धरान : धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरू मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् ।
आफ्ना विकासका योजना तथा अन्य एजेन्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दैछन । वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली काँग्रेसका युवा नेता सुधीर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन् ।
माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछि गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ काङ्ग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति थियो । गठबन्धन भएपछि अव सुधिरसिंको सिधा प्रतिस्पर्धा एमालेका रमेश राई सँग हुनेछ ।
वडा नम्बर २ देशी लाइनमै हुर्किएका सुधीरसिंह लिम्बु वडाका युवाहरूका लोकप्रिय अगुवा हुन । स्थानीय व्यवसायीहरू सँग सहयोगी अभिभावकको रूपमा उनी परिचित छन् । देशी लाइनको फराकिलो सडक सहित आधुनिकीकरण, भौडी चौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा सुधीर सिंहको महत्त्वपूर्ण भूमिका रहेकाले वडामा उनको युवा समाजसेवीको छवि रहँदै आएको छ ।
धरानको खानेपानी समस्यामा सबै भन्दा ठुलो मारमा परेका वडा २ भएको उनको भनाई छ । बसपार्क र धरानको मुटु नै भएकाले यहाँको होटेल, रेष्टुरा, व्यापार, व्यवसायको लागि खानेपानीको सबैभन्दा ठुलो मारमा पर्दै आएकाले वैकल्पिक रूपमा खानेपानी उपलब्ध गराउन नियमित वडाकै ट्याङ्करको व्यवस्था गर्ने सुधीरसिंहको प्रतिबद्धता छ । वडामा खानेपानीको मौज्दात राख्न खानेपानी उपयुक्त स्थानमा ट्याङ्की बनाउने योजनामा पनि उनको छ ।
भानु चौक, देशी लाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, ट्याम्पो सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौती सँग सामना गर्दै आएको छ । चौतर्फी सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्राविधिक पनि प्रयोग गर्न जरुरी भएको बताउँदै उनले भने ‘भानु चौकमा ट्राफिक लाइटको व्यवस्था नगरी नहुने देखिएकोले त्यसमा पनि मेरो प्राथमिकता हुनेछ ।’








































































