धरान : लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूले आफू निर्वाचित भएर आएको खण्डमा जनताले अनुभूति गर्ने खालको काम गरेर देखाउने बताएका छन्।
लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट नेपाली काँग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर प्रतिस्पर्धी किशोर राई र उपमेयरका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले धरान-११ मा घरदैलो कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले धरानमा रहेको खानेपानी अभावलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए। खानेपानीमा धरानको समग्र विकास जोडिएकोले पहिलो प्राथमिकता खानेपानीलाई दिने उनीहरूले प्रतिबद्धता जनाएका थिए। मेयरका उम्मेदवार राईले भने-‘धरानको हरेक विकासमा खानेपानी जोडिएको हुन्छ, खानेपानी विना धरानको विकास हुनै सक्दैन, त्यसैले हामी नेतृत्वमा पुगेको खण्डमा धरानको अन्य विकासको रकम कटौती गरेर भए पनि खानेपानी समस्या समाधानतर्फ केन्द्रित हुन्छौँ ।’
उनले यसका अलावा अन्य विकासका कुराहरूलाई प्राथमिकतामा आधारमा पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् । यसैगरी उपमेयरका प्रतिस्पर्धा बेघाले गठबन्धन नेतृत्वमा पुग्दा कसैको एकलौटी वर्चस्व नहुने भएकोले छलफल र बहस पछि मात्र विकास निर्माणका कार्यहरू अगाडि बढ्ने बताए । उनले भने-‘हाम्रो एजेन्डा नै पहिलो खानेपानी समस्या समाधानको हो, हामी जितेर गएपछि पहिलो निर्णय नै खानेपानी समस्या समाधान हुनेछ ।’
धरान-११ को टोलटोलमा पुगेका उनीहरूको कुरालाई त्यहाँका सर्वसाधारणले चासोको रूपमा सुनेका थिए । विगतमा नेकपा एमालेले भोट माग्दा वडाको यही प्रतिबद्धता जनाए पनि पूरा नगरेको गुनासो गरेका सर्वसाधारणले गठबन्धनका उमेद्वारहरुले गरेको प्रतिबद्धतामा भने विश्वास गरेका थिए । सर्वसाधारणले विगतमा एमालेले झुटो आश्वासन बाँडेर मत मत मागेर विजयी भए पनि वडाको विकासमा ठोस काम गर्न नसकेको बताएका थिए । तर गठबन्धनका उम्मेदवारका तर्फबाट मेयरका प्रत्याशी बनेका किशोर राई र उपमेयर आइन्द्र विक्रम बेघाप्रति भने भरोसा भएको बताएका थिए।
राईले धरानलाई खेलकुदको सहर भनेर चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सबैको सामु छर्ला भएको बताउँदै उनीहरूले युवा जोस र जाँगर भएका राईप्रति धरान-११ का सर्वसाधारणप्रति ठुलो भरोसा भएका बताएका थिए । उनीहरूले उपमेयर बेघा शालीन, प्रष्ट, इमानदार, कर्तव्यनिष्ठ उम्मेदवार भएका कारण गठबन्धनका मेयर तथा उपमेयर नेतृत्वमा पुगे उपमहानगरपालिकाभित्रको अराजकताको समेत अन्त्य हुने विश्वास सर्वसाधारणले गरेका थिए ।