धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बास्केटबलको उपाधि एम्स एकेडेमी र धरान आदर्श स्कुलले जितेका छन् ।

आज धरान स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको पुरुष बास्केटबलको उपाधि एम्स एकेडेमीले जितेको हो । यससँगै एम्स एकेडेमीले लगातार ३ वर्ष उपाधि जित्दै ह्याट्रिक गरेको छ । महिला बास्केटबलको उपाधि धरान आदर्श स्कुलले जितेको छ ।

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी र हाइ स्कोरर एम्सका निशान तामाङ, उदयिमान खेलाडी धरान आदर्शका सौगात मगर घोषित भएका थिए । त्यस्तै महिला तर्फ उत्कृष्ट खेलाडी धरान आदर्शकी मलिका राई, हाइ स्कोरर धरान आदर्शकी निरुता राई र उदयिमान खेलाडी विष्णु स्कुलकी रोशिका राई घोषित भइन् ।

उनीहरूलाई प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगितामा सुनसरीका पुरुष तर्फ ९ र महिला तर्फ ४ टिमले सहभागिता जनाएका थिए ।

फाइनलमा ३१-२६ को स्कोरमा एम्स एकेडेमीले हिमालयन मेघा कलेजलाई पराजित गरेको थियो । खेलको पहिलो र दोस्रो क्वाटरमा पछि परेको अवस्थालाई तेस्रो क्वाटरमा एम्सले उत्कृष्ट पुनरागमन गरेको थियो ।

पहिलो क्वाटरमा ५–४ ले पछि परेको एम्स दोस्रो क्वाटर सकिँदासम्म १६–८ को फराकिलो अन्तरले पछि परेको थियो । तर तेस्रो क्वाटरमा एम्सले उत्कृष्ट पुनरागमन गर्‍यो । तेस्रो क्वाटरमा एम्सले ११ अङ्क जोड्दा हिमालयन ५ स्कोर मात्र जोड्न सफल भयो । जसले गर्दा तेस्रो क्वाटर सकिदा एम्स एकेडेमीको २३ स्कोर र हिमालयन मेघाको २१ स्कोर भएको थियो ।

निर्णायक चौथो क्वाटरमा एम्सले ८ स्कोर गर्दै ३१ र हिमालयनले ५ मात्र स्कोर गर्दा २६ मा सीमित भएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्सका सितम लिम्बू घोषित भएका थिए ।

महिला बास्केटबल तर्फको उपाधि विष्णु मेमोरियल स्कुललाई पराजित गर्दै धरान आदर्शले जितेको छ । धरान आदर्शले प्रत्येक क्वाटरमा ४-८-६-२ स्कोर गरेको थियो भने विष्णु मेमोरियलले प्रत्येक क्वाटरमा ०-७-०-२ स्कोर गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच धरान आदर्शकी सुप्रिया गुरुङ घोषित भइन् ।

विजेता तथा उपविजेता खेलाडीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूलाई प्रमुख अतिथि १८ नं. वडाका वडाध्यक्ष प्रवीण राई, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरे, सचिव एवं हिसान स्पोर्टस् मिटका संयोजक सागर भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।