झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले 'नेपाल मास्क अभियान' सुरु गरेको छ। सरकारले शनिवारदेखि 'नेपाल मास्क अभियान' सुरु गरेसँगै झापामा पनि मास्क अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए। कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान सुरु गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि मास्कको महत्त्व बुझाउन अभियान सुरु गरेको पहरी निरीक्षक चापागाईँले बताए। अभियानमा मास्क लगाउनुको महत्त्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ। अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाईँले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबुन पानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

अभियान अन्तर्गत आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईँको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो, हिड्डुल गर्दा मास्क लगाऔँ लगायतका प्ले कार्ड र ब्यानर सहित सचेतना मूलक कार्यक्रम गरेका थिए। कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, इलाका प्रहरी कार्यालय अनारमनिको पनि सहभागिता रहेको थियो ।