तेह्रथुम: तेह्रथुमका स्थानीय तहहरुले आर्थिक वर्षको अन्तिम समयमा विकास बजेट खर्च गर्ने परम्परालाई निरुत्साहित गर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला सभाको समीक्षा बैठकमा सहभागी जनप्रतिनिधिहरुले विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय विकास जोड दिने प्रतिवद्धता जनाएका हुन् । दोश्रो जिल्ला सभाले चौमासिक रुपमा विभिन्न स्थानीय तहमै पुगेर आलोपालो समीक्षा गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम जिल्ला समन्वय समितिको आयोजना तथा छथर गाउँपालिकाको व्यवस्थापनमा शुक्रबारे बजारमा भएको समीक्षा बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा भएको छ । बैठकमा स्थानीय तहका प्रमुखहरुले चालु आवको पहिलो चौमासिकमा भएका गतिविधि र प्रगति प्रस्तुत गर्नुभएको थियो । बैठकले कार्य योजना बनाएर काम गर्ने प्रणालीको विकास गर्ने निर्णय समेत लिएको छ ।

बैठकले आगामी दिनमा योजना निर्माण र बजेट विनियोजन तथा खर्च गर्ने प्रणालीको विकासमा समेत मेहिनेत गर्नुपर्ने महसुस भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले बताए । बैठकले जिल्ला सभाको अर्को समीक्षा बैठक आठराई गाउँपालिकाको सक्रान्तिबजारमा गर्ने निर्णय लिएको जिल्ला समन्वय अधिकारी गोकुल खड्काले जानकारी दिए ।