धरान : धरानमा अक्षयकोषदाता सम्मानित भएका छन्। विश्वकर्मा कल्याण सेवा समिति धरानले सबैभन्दा बढी अक्षयकोष प्रदान गर्ने दाताहरूलाई सम्मान गरेको हो।

सोमबार सम्पन्न समाजको ३४औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले अक्षयकोषदाता शुभद्रा विश्वकर्मा, लालबहादुर विश्वकर्मा र रेणुका विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरे।

उनीहरूले शुभद्रा विश्वकर्माका श्रीमान् तथा लालबहादुर र रेणुका विश्वकर्माका पिता मंगलसिंह विश्वकर्माको नाममा ‘मंगलसिंह छात्रवृत्ति’ अक्षयकोष स्थापना गरेका हुन्। समाजका अध्यक्ष खड्गबहादुर विश्वकर्माका अनुसार उनीहरूले सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष प्रदान गरेका छन्।

साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख बेघाले समाजले आफ्नो हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। सोही अवसरमा धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले समाजलाई कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीसमेत प्रदान गरेका थिए।