इटहरी : बालबालिकाको रुचिले भविष्य निर्धारण गर्छ भन्ने मान्यतालाई पछ्याउँदै राष्ट्रिय मावि आइडल आयोजना भयो । गायन, नृत्य र साहित्य तीन विधामा विद्यार्थीले प्रस्तुति दिए । प्रत्येक विधामा विजयी भएका र नभएका सबैलाई राष्ट्रिय माविले कलामा निखरता ल्याउने वातावरण बनाएको छ । पाठ्यक्रमको अध्ययन सँगै क्षमता अभिवृद्धिमा विद्यालयले लगानी बढाएको हो । अभिभावक सँगको नियमित संवाद र सरोकारवाला सँगको सहकार्यमा विद्यालय उत्कृष्टताको उचाइमा अगाडी बढिरहेको छ ।

भलिबल, फुटबल, क्रिकेट लगायत खेलकुदका विधाहरूमा समेत विद्यालयले सक्रियता देखाएको छ । २०८३ को शैक्षिक सत्रबाट खेलमैदानको स्तरोन्नति गर्ने र विद्यालयलाई पढ्ने/पढाउने मात्र हैन सिक्ने र सिकाउने थलोको रूपमा विकास गराइने भएको छ । पाठ्यक्रम बाहेक धेरै कुरा सिक्नुपर्ने आवश्यकता रहेकाले सोही अनुसार गतिविधि गरिरहेको बताउँछन् प्रधानाध्यापक सरन बस्नेत ।

बस्नेत २०६० सालमा राष्ट्रिय माविमा प्रवेश गरेका हुन् । त्यसबेला जम्मा ८ कक्षा सम्म पढाइ राष्ट्रिय मावि इटहरीमा सरस्वती सतन पछि खुलेको दोस्रो विद्यालय हो । विगत स्मरण गर्दै उनले भने, ‘झ्याल बिनाका खुल्ला कोठाहरू थिए । डेस्क बेन्च पनि थिएनन् । भवन एकदमै असुरक्षित । पूर्वाधार बनाउन असम्भव जस्तो अवस्था थियो । २०१३ सालमा खुलेको विद्यालयमा ६० सालसम्म माध्यमिक तहमा पुग्न सकेको थिएन । त्यो अवस्थाबाट यो अवस्थामा आउन धेरै मेहनत गर्नुपरेको छ ।’

त्यही बिचमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले केही लाख पैसा दिएपछि नयाँ भवन निर्माण सुरु भयो । आँपगाछी चोकमै रहेको असुरक्षित भवन भत्काएर नयाँ विद्यालय बनाउने काममा तत्कालीन अध्यक्ष बोधराज बजगाईँले अग्रसरता लिए । स्थानीय १५१ जना नागरिकले भवन बनाउन सहयोग पुर्‍याए । हाइटेन्सन लाइन विस्तारले विद्यालयलाई असर परेपछि विद्युत् प्राधिकरणले ५ लाख क्षतिपूर्ति दियो । त्यही पैसाले निम्न माविबाट माध्यमिक तहमा पुर्‍याउन २ लाख धरौटी राखियो ।

माध्यमिक तहको पढाई सुरु भएपनि विद्यार्थी पाउन गाह्रो हुने अवस्था आयो । इटहरीको जनता माविले समेत राष्ट्रिय माविबाट गएका विद्यार्थीलाई स्वीकार नगर्ने अवस्था थियो । राष्ट्रिय माविका विद्यार्थी कमजोर भएपछि अन्य विद्यालयले भर्ना नलिने गरेको अनुभव प्रधानाध्यापक बस्नेतले सुनाए ।

माध्यमिक तहमा पढाई सुरु हुन थालेपछि बाहिरका शिक्षकहरू आए । जिल्ला बाहिरबाट पनि शिक्षकहरू आउन थालेपछि विद्यालय थप चलायमान भयो । केही नयाँ सुरुवात गर्न व्यवस्थापन समिति र शिक्षकहरू बिचमा तारतम्य मिल्यो । जसले विद्यालयलाई केही वर्षमै धेरै सुधार गरायो ।

प्रगतिको गति यति बढ्यो कि २०६५ सालको एसएलसी परीक्षामा पहिलो पटक उच्च श्रेणी (डिस्टीङ्सन) ल्यायो ।  प्रतीक खतिवडा र दुर्गाप्रसाद निरौला दुई विद्यार्थीले पाएको नतिजाले इटहरी मात्र हैन सुनसरीमै चर्चा कमायो । त्यसपछि एकै पटक विद्यालयको प्रभाव र प्रचार बढ्यो । २०६७ सालमा पनि ५ जनाले उच्च श्रेणी प्राप्त गरे । केही वर्षमै राष्ट्रिय मावि उत्कृष्ट विद्यालयको रूपमा परिचित भयो।

तत्कालीन प्रधानाध्यापक लोकेन्द्र काफ्लेको समन्वयात्मक भूमिकाले विद्यालयको वृत्ति विकासमा खास योगदान पुर्‍यायो । २०७३ सालमा ज्ञानबहादुर विश्वकर्मा अध्यक्ष भए । उनी पूर्व गाविस सचिव समेत रहेकाले श्रोतको व्यवस्थापनमा केही बुझेका थिए । सोही वर्षमा फाल्गुन देखि टोल विकास सँग समन्वय गरेर विद्यार्थी ल्याउने प्रस्ताव ल्याए । टोलमा शिक्षक प्रतिनिधि पठाएर अभिभावक भेला गर्न थाले ।

saran basnet

मुख्य राजमार्गमै विद्यालय भएकाले दुर्घटनाको जोखिमको कारण विद्यार्थी नपठाएको अभिभावकले सुनाए । अङ्ग्रेजी माध्यमबाट पढाउने र गाडीको व्यवस्था भएपछि विद्यार्थी आउने बुझेका विश्वकर्माले सोही अनुसार रणनीति बनाए । केही समयमै इटहरीमा पहिलो पटक गाडीको सुविधा भएको पहिलो सरकारी विद्यालय बन्यो राष्ट्रिय मावि ।

गाडी सुविधाबापत अभिभावकबाट महिनाको ३ सय रुपैयाँ लिन थालियो । सिटिइभिटीको प्राविधिक शिक्षा कार्यक्रममा जोडिएकाले विद्यालयको श्रोत बढ्यो । जसले बस खरिदमा सहयोग पुर्‍यायो । पछि सरकारले १ प्रतिशत ब्याजदरमा बस दिएपछि थप बसको सेवा विस्तार गरेपनि अझै अपुग रहेको बस्नेतको भनाइ छ । अङ्ग्रेजी माध्यमबाट पढाई सुरु भएपछि विद्यार्थीको चाप बढ्दै गएको उनी बताउँछन् । पहिला विद्यार्थी खोज्दै हिँडेको विद्यालय अहिले कक्षा कोठा अभाव झेलीरहेको छ ।

प्राविधिक शिक्षामा आशा र निराशा
नेपाल सरकारले एक जिल्ला एक प्राविधिक विद्यालयको अवधारणा ल्याएको थियो । जनशक्ति र ल्याब दिएर व्यवस्थापन गर्ने सरकारले प्रस्ताव गर्‍यो । २०६९ मा प्राविधिक विद्यालय चलाउने आवेदन माग भयो । सुनसरीमा हरिनगर मावि र राष्ट्रिय माविको निवेदन परेपनि राष्ट्रिय माविले अनुमति पायो । इटहरी उपमहानगरपालिकाका हालका मेयर हेमकर्ण पौडेल सञ्चालक समितिमा भएकाले राजनीति पहुँच लगाएर कार्यक्रम भित्रियो ।
त्यसपछि २०७३ सालमा डिप्लोमा कोर्स सुरु भएको हो । भर्खरै प्रधानाध्यापक भएका सरन बस्नेतले थप मेहनत अगाडी बढाए । सुस्मा गोदाबारीमा मात्र पढाई हुने डिप्लोमा इन्जीनियरीङको कक्षामा विद्यार्थीको आकर्षण थियो । बिस्तारै कक्षा १२ पछि थप अध्ययनको लागि विदेश जाने प्रचलन बढेपछि डिप्लोमा कोर्सको आकर्षण घट्दै गएको छ । तीनबर्षे कोर्सको रिजल्ट ५ वर्षमा आउने र विदेश जाने मोहले समस्या भएको बस्नेत बताउँछन् । विद्यार्थी नै पाउन गाह्रो भएको बताएका उनले निःशुल्क बढाउने सुविधा हुँदा समेत कोटा नपुगेको गुनासो गरे । 
सिटिइभिटीले वर्षभरि ७ लाख दिएको र त्यसबाटै शिक्षक लगायत सम्पूर्ण व्यवस्थापन गर्न समेत समस्या भइरहेको उनको भनाइ छ । शिक्षा विभागले चलाएको सोही प्रकृतिको अर्को कार्यक्रममा भने विद्यार्थीको आकर्षण छ । 
विद्यार्थीलाई शैक्षिक गतिविधिमा सक्रिय बनाउन वर्षमा ४ वटा परीक्षा लिइन्छ । जसले विद्यार्थीलाई थप जिम्मेवार र  प्रभावकारी बनाएको छ । विद्यार्थीलाई रिजल्ट बेसिसमा भन्दा पनि सिकाइको आधारमा कक्षा सञ्चालन गर्ने गरिएको बताउँछन् बस्नेत । शिक्षकहरू समेत टार्गेट दिएर कक्षा कोठामा पुग्छन् । आफ्नो लक्ष्य हासिल गर्ने उद्देश्यले काम गरिरहन्छन् ।
तल्लो कक्षाका ग्रेड टिचिङ बेसिसमा चलाइरहेका छन् । निजी विद्यालयले भन्दा पनि धेरै मेहनत गरिरहेको उनले बताए । विद्यालयले आफैले खर्च गरेर बालकक्षा देखि माथि थप एउटा पुल कक्षा सञ्चालन गरिरहेको छ ।
वार्षिक नीति तथा कार्यक्रम 
शिक्षक प्रोत्साहन कार्यक्रम अन्तरगत विषय शिक्षक नभएको खण्डमा वैकल्पिक शिक्षकको व्यवस्थापन हुन्छ । वैकल्पिक शिक्षकले प्रति पिरियड ७० रुपैयाँ थप पाउने गरेका छन् । सानो कक्षामा एकै छिन शिक्षक नहुँदा पनि दुर्घटना हुने गरेको बताउँदै बस्नेतले बालबालिकालाई व्यस्त बनाउन नयाँ सुरुवात गरिएको बताए । 
कोरोना कालमा फेसबुक पेज बनाएर विद्यार्थी सँगको संवाद सुरु भयो । १२ हजार अभिभावक र विद्यार्थी जोडिएको पेजमा अहिले सूचना प्रवाह गर्ने महत्त्वपूर्ण श्रोत बनेको छ । 
‘वर्षमा ४ पटक विद्यालयले अभिभावक सँग भेटघाट गर्ने गरेको छ । बाँकी समयमा शिक्षक र विद्यालय सँग निरन्तर सम्पर्कमा अनुरोध गर्छौँ । त्यसले अभिभावक र विद्यालयको सम्बन्ध एकदमै प्रगाढ बनेको छ । हामी नै पहिलो विद्यालय हौँ जसले हरेक वर्ष बजेट नीति तथा कार्यक्रम ल्याउँछ,’ पछिल्लो प्रगति सुनाउँदै प्रधानाध्यापक बस्नेतले भने । 
व्यवस्थापन समितिको अध्यक्षमा कोविदजंग कार्की चयन भएपछि विद्यालयको आम्दानी, सहयोग र खर्च सबै खुलस्त पार्न थालिएको हो । प्रत्येक वर्ष नयाँ नीति र कार्यक्रम ल्याएर विद्यालयलाई थप व्यवस्थित बनाउन लागि परेका छन् कार्की ।  
विद्यालयलाई स्थानीय सरकारले अपनत्व लिएर अगाडी बढाउनुपर्ने तर्क गर्छन् अध्यक्ष कार्की । शिक्षामा गरेको लगानीको प्रतिफल नयाँ पुस्तामा मात्र प्राप्त गर्न सकिने बताउँदै उनले स्थानीय सरकारलाई बालबालिकामा लगानी गर्न आग्रह गरे । बालबालिकामा पाएको अनुभवले भविष्य निर्धारण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । जनशक्ति र पूर्वाधारमा स्थानीय सरकारको कदम अगाडी बढ्नुपर्ने कार्कीको बुझाइ छ ।
rastriya MAVI 2