धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको श्रमदान अभियान श्रमदाताका लागि बालुवामा पानी खन्याएको जस्तो उत्पादन रहित रहेको विप्लव नेकपा माओवादी पार्टी केन्द्रीय सदस्य दिपेश राईले बताएका छन् ।
पार्टीद्वारा मङ्गलवार धरान भानु चौकमा आयोजित कोणसभाका उनले हर्क साम्पाङलाई सुझाव दिदैं श्रमिकका लागि उत्पादनमुखी मूल्य सहितको श्रमदान सुरु गर्न आग्रह गरे । उनले भने ‘श्रमदान उत्पादनमुखी हुनुपर्छ, बालुवामा पानी खन्याएको जस्तो बिना मूल्यको श्रमले श्रमिकलाई कुनै उत्पादन प्राप्त हुँदैन ।’
पार्टीको मेची–महाकाली समाजवादी युवा जागरण अभियानको कोणसभामा उनले हर्क साम्पाङ, बालेन साह र कुलमान घिसिङलाई लक्षित गर्दै जेन–जी विद्रोहमा भएका विध्वंसको बारेमा जनताले उठाएका गम्भीर प्रश्नहरूको जवाफ दिन आग्रह गरे ।
जवाफ नदिए नेपाली समाजले दण्डित गर्ने चेतावनी दिदैं राईले भने ‘ खोसिएका हातहतियार राज्यलाई फिर्ता नगरेसम्म मात्र चुनाव हुँदैन ।’ फागुन २१ मा हुने चुनाव हुन नसक्ने उनको भनाई थियो ।
केन्द्रीय सदस्य राईले विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीलाई बदनाम गराउन प्रधानमन्त्री सुशीला सरकारले मगर समुदाय रहेको स्थानबाट पुराना घरेलु  काम नलाग्ने भरुवा बन्दुक उठाएर भ्रामक प्रचार गरेको आरोप लगाए ।
अर्का नेता प्रकाश सिहले धरानका नगरप्रमुख हर्क साम्पाङको फेसबुके स्टन्टबाजीले देश नबन्ने बताए । उनले भने ‘दिनमा ५० वटा स्ट्याटस र स्टन्टबाजीले देश बन्दैन ।’ 
हर्क साम्पाङ, बालेन शाह र कुलमान घिसिङ नयाँ शक्ति भनिने दल तथा व्यक्तिहरूले स्पष्ट राजनीतिक विचारधारा के हो ? पुँजीवाद हो कि समाजवाद भन्ने कुरा जनता माझ खुलाउन उनले चुनौती दिए ।
संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थतन्त्र सरकारी, सहकारी र निजी क्षेत्र सबै तिर ठगी भइरहेको बताउँदै उनले भने ‘धेरै नेपालीले आफ्नो पसिनाको कमाइ सहकारीमा जम्मा गरेका छन्, तर त्यही पैसा ठगी गर्नेहरू नै अहिले ‘नयाँ शक्ति’ बनेर अगाडि आएको छ ।’
मेची–महाकाली समाजवादी युवा जागरण अभियान पुस २० देखि सुरु भएको हो । अभियान पुस ३० गते पश्चिम महाकाली पुगेर सम्पन्न हुने बताइएको छ ।