तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले गाउँपालिकाको केन्द्र शुक्रबारे बजारलाई स्वच्छ, सफा र हराभरा बनाउन अभियान थालेको छ ।

गाउँपालिकाले बजारको फोहोर व्यवस्थापन गर्न बजारबासीलाई डष्टविन वितरण गरेको छ । बजारलाई पर्यटकीय गन्तव्य बनाउन अहिले बजारबासीले घर अगाडि डष्टविन राखेर फोहोर व्यवस्थित गर्न थालेका छन् । बजारलाई व्यवस्थित गर्न गाउँपालिकाले ७ वटा टोल विकास संस्थाहरु गठन गरी ती नै संस्थाहरुमार्फत बजारलाई स्वच्छ बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बजारको फोहोरलाई व्यवस्थित गर्न १ सय ५९ वटा डष्टविन वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । बजार र सिंगो गाउँपालिकालाई नै पर्यटकीय र नमुना गाउँपालिका बनाउन गाउँपालिकाले हरित गाउँपालिका निर्माणको अभियान समेत चलाइरहेको छ । गाउँपालिकाले बजार क्षेत्रका सडकलाई १० मिटर चौडाईको निर्माण गरी सडक आसपासमा फुल रोप्ने र सफा राख्ने अभियान समेत चलाइरहेको छ ।