धरान : विविध कारणले तोकिएको समयमा निर्माण सम्पन्न गर्न ढिलाई भइरहेको धरान खानेपानी आयोजनाबारे प्रदेश नं १ को संसद बैठकमा छानबिन गर्नुपर्ने माग उठेको छ । मोरङका समानुपातिक सांसद लोकप्रसाद संग्रौलाले सोमबार शुन्य समयमा बोल्दै आयोजनाको डिजाइन अनुसार खानेपानी उत्पादन र आपूर्ति गर्न नसकेको भन्दै छानबिन गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले आयोजनाको डिजाइनमा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रत्येक दिन उत्पादन गर्ने भनिए पनि अहिलेसम्म प्रतिदिन १३ लाख लिटर मात्र उत्पादन भएको संसदमा बताएका थिए । डिजाइन अनुसार पानी किन उत्पादन र आपूर्ति हुन नसकेको बिषयमा छानबिन गर्नुपर्ने सांसद संग्रौलाको माग थियो ।
विदेशी दाताहरुबाट आएको ठुलो बजेटको सहीरुपमा सदुपयोग नभएको जानकारी पाएअनुसार आफुले प्रदेश संसद वैठकमा धरानको खानेपानीको बिषयमा कुरा उठाएको सांसद संग्रौलाले बताए । उनले कुपरी न्युजसँग भने,‘स्वास्थ्य, शिक्षा, खानेपानीमा विदेशीले पैसा दिन्छ, तर सही ठाउँमा प्रयोग हुदैन । धरानको खानेपानीमा पनि त्यस्तै भएको हो कि भनेर छानबिन गर्र्नुपर्छ भनेर ध्यानाकर्षण गराएको हुँ ।’ उनले आयोजनाको वास्तविकता छानविन गरेर प्रष्ट नभएसम्म नगरपालिकाले जिम्मा लिन नहुने पनि संसदमा कुरा उठाएको बताए । यद्यपी, सांसद संग्रौलाले भने संसदमा प्रस्तुत गरेको तथ्यांक भने गलत थियो । जनसरोकार मञ्च नेपाल नामको संस्थाले सर्वोच्चमा मुद्दा हाल्दा उल्लेख गरेको तथ्यांकको आधारमा सांसद संग्रौलाले प्रदेश संसदमा धरान खानेपानी आयोजनाबारे कुरा उठाएका हुन् ।
सांसद संग्रौलाले संसदमा धरानको खानेपानी आयोजनाबारे कुरा उठाउनु सकरात्मक भएपनि उनले प्रस्तुत गरेको आँकडाहरुमा भने वास्तविकता भन्दा फरक रहेको आयोजना कार्यान्वयन ईकाईले जनाएको छ । आयोजनाका अनुसार ७ वटा ट्युबेलबाट भुमिगत स्रोतको पानी डिजाइन गरेको लक्ष्यभन्दा बढी उत्पादन भएको छ । तर, उपभोक्ताको घरसम्म आपूर्ति गर्न भने सकिरहेको छैन । चारकोसे जंगलस्थित ४ वटा ट्युबेलबाट प्रतिदिन ८० लाख लिटर र कुम्भीआहालस्थित ३ वटा ट्युबेलबाट २६ लाख लिटर पानी उत्पादन गर्ने डिजाइन हो । ‘आयोजनाको डिजाइन भन्दा बढी पानी उत्पादन गर्न सकेको छौं, चारकोसेबाट ८० लाख लिटर र कुम्भीआहालमा त ३८ लाख लिटर पानी उत्पादन भएको छ,’आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोखरेलले भने,‘संसदमा कुरा उठेको हो र अनुगमनमा आउने हो भने हामी स्वागत गछौं, सत्य तथ्य देखाउन तयार छौं ।’
धरानमा एसियाली विकास बैंक(एडिबि)को २२ मिलियन डलर अर्थात करिब सवा २ अर्ब बराबरको एकीकृत सहरी विकास आयोजनाअन्र्तगत खानेपानी परियोजना सञ्चालित छ । आयोजनाको ५ वटा सबसिस्टम मध्ये पाँचकन्या सबसिस्टमबाहेक अन्य चार वटाको निर्माण कार्य लगभग सकिएको छ । रेल्वे सबसिस्टमबाट आयोजनाले खानेपानी वितरण शुरु गरिसकेको छ भने पिण्डेश्वर, सुम्निमा र फुस्रे सबसिस्टमको निर्माण सकिए पनि खानेपानी संस्थानसँग इन्टर कनेक्सन गर्न नपाउदा नगरबासीलाई पानी आपूर्ति गर्न सकेको छैन । पाँचकन्या सबसिस्टमको लागि विजयपुर दरबार क्षेत्रमा रिजर्ब वेयर बनाउने विवादले काम रोकिएको छ । दोस्रो पटक म्याद सकिएको आयोजनाको अब म्याद नथपिने एडिबिले जानकारी गराइसकेको छ । अक्टोबर ६ भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय सकिएको छ भने डिसेम्बर भित्र सम्पुर्ण विल भुक्तानी एवं फछ्यौट गरिसक्नुपर्नेछ ।


































































