धरान : कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एम गल्फ प्रतियोगिता शुक्रबारदेखि धरानमा सुरु भएको छ।
धरान–१८ स्थित धरान गल्फ क्लबको कोर्षमा सुरु भएको प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले गरेका हुन्। प्रतियोगिता शनिवार सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको पहिलो दिन प्रोफेसनल प्रतिस्पर्धा सम्पन्न भएको छ भने शनिवार एमेच्योर स्पर्धा आयोजना गरिने प्रतियोगिता संयोजक तथा गल्फ सङ्घका सदस्य लोकेन्द्र चाम्लिङ राईले जानकारी दिए।
पार ७० को गल्फ कोर्षमा सम्पन्न प्रोफेसनल प्रतिस्पर्धामा सुमन परियारले कुल ३ अन्डर ६७ स्कोर गर्दै पहिलो दिनमै वर्चस्व कायम राख्दै विजेता बने। उनले फ्रन्टलाइनमा १ अन्डर ३५ तथा ब्याक नाइनमा २ अन्डर ३२ को उत्कृष्ट कार्ड बनाएका थिए।
एक स्ट्रोकले पछि परेका सुमन राईले कुल २ अन्डर ६८ स्कोरसहित दोस्रो स्थान हासिल गरे। उनले फ्रन्ट नाइनमा ३ अन्डर ३३ को उत्कृष्ट प्रदर्शन गरे पनि ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाएका थिए।
यसै गरी, टङ्कबहादुर कार्की र राजकुमार राई ९राजेन० समान १ अन्डर ६९ स्कोरका साथ संयुक्त तेस्रो स्थानमा रहे। टङ्कले फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाए भने राजकुमारले फ्रन्ट नाइनमा ४ अन्डर ३२ को उत्कृष्ट खेल देखाए पनि ब्याक नाइनमा ३ ओभर ३७ को कार्ड खेले।
थामबहादुर राई इभन पार ७० स्कोरसहित पाँचौँ स्थानमा रहँदा सविन सापकोटा २ ओभर ७२ स्कोरसहित छैटौँ भए। सुमन सापकोटा ४ ओभर ७४ स्कोरसहित सातौँ तथा बलभद्र राई ८ ओभर ७८ स्कोरसहित आठौँ स्थानमा रहे।
धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा शनिवार हुने एमेच्योर स्पर्धामा ४५ भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताए।