धरान : धरानमा पहिलो पटक आयोजित नगद पुरस्कार सहितको एमेच्योर गल्फ प्रतियोगीताका च्याम्पियन राहुल विकलाई ट्रफि सहित ५० हजार रुपैयाँ  प्रदान गरिएको छ ।, 
मङ्गलवार सम्पन्न २ दिने प्रतियोगितामा दोस्रो स्थानमा प्रकृत तामाङ र तेस्रो स्थानमा धरानका सुन्दर राई रहे ।
उनीहरूले नगद पुरस्कार २५ हजार २० हजार प्राप्त गरे । प्रतियोगितामा दशौं स्थान सम्मका खेलाडीलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिता ब्रिटिस आर्मीका देउकुमार र क्याप्टेन दीपेन्द्र राई दाजुभाइको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन भएको धरान गल्फ क्लब सङ्घका केन्द्रीय उपाध्यक्ष, धरानका पूर्व मेयर तलक राईले बताए ।
उनका अनुसार राई दाजु भाईव्दयले आगामी ५ वर्ष सम्म प्रतियोगिता निरन्तरता दिने प्रतिबद्धता सहित ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन । देशका लागि सक्षम गल्फ खेलाडी तयार गर्न अब प्रतियोगिताले निरन्तरता पाउने उनले बताए ।  
दाजुभाइबाट प्राप्त ३ लाख रुपैयाँमध्ये १ लाख रुपैयाँ धरान गल्फ क्लबको कोर्स मर्मत सम्भार र व्यवस्थापनमा खर्च गरिएको छ । २ लाख रुपैयाँ नगद पुरस्कारमा रकममा खर्च भएको बताइएको छ ।
पहिलो पटक नगद पुरस्कार सहितको ओपन प्रतियोगिता भएको कारण विजेता नेपालका नम्बर वान एमेच्योर राहुल सहित देशभरका सिङ्गल ह्यान्डिक्याप भएका ३८ जना एमेच्योर खेलाडी सहभागी भएको उपाध्यक्ष राईले बताए ।  
क्याप्टेन दीपेन्द्रको भनाई 
प्रतियोगीताका प्रायोजन स्वरूप आर्थिक सहयोग गरेका क्याप्टेन दीपेन्द्र राई भन्छन् ‘देशका लागि केही गरौँ भन्ने सोचले गल्फ खेलमा लगानी गरेका हौँ ।’ गल्फ खेलाडीले खेलबाटै आम्दानी गर्न सकुन् भन्ने उनको चाहना भएको भएको बताए । 
आगामी वर्षदेखि नगद पुरस्कार बढाएर प्रथम हुने खेलाडीलाई ८० हजार रुपैयाँ दिने प्रायोजक क्याप्टेन दीपेन्द्र राईले प्रतिबद्धता जनाएका छन् । 
उनले भने ‘एमेच्योर खेलाडीले नगद नपाउँदा छिट्टै प्रो टर्न हुन हतारिन्छन् ।’ एमेच्योरमै आम्दानीको अवसर पाए खेलाडीको क्षमता अझ निखारिने उनको भनाई छ ।
एमेच्योर गल्फमा पहिलो नगद पुरस्कार  
गल्फ सङ्घका उपाध्यक्ष राईले ब्रिटिस आर्मीका दाजुभाइको आर्थिक सहयोगबाट गल्फ सङ्घले गर्न नसकेको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने ‘नेपालमा एमेच्योर गल्फ प्रतियोगितामा नगद पुरस्कार वितरण गरिएको यो नै पहिलो हो ।’ 
गल्फ सङ्घले बजेट अभावका कारण गर्न नसकेको काम दाजुभाईले गरेर देखाएको बताउँदै उपाध्यक्ष राईले भने ‘यो खेल र देशप्रतिको भावना हो, यसले अन्य लाहुरेहरूलाई पनि प्रेरणा दिनेछ ।’
dajubahai-gulf