धरान : धरानको साहित्य, कलाको विकास र प्राज्ञिक उन्नयनका लागि धरान उपमहानगरपालिकाले धरान प्रज्ञा प्रतिष्ठान गठन गरी वर्षेनि २० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको थियो । तर साढे ३ वर्ष नगर प्रमुख रहेका हर्क साम्पाङले त्यो परम्परालाई बन्द गराएर गएको धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले बताएका छन् ।
कवि शिरोमणि साहित्य साधना समाजद्वारा आज सोमवार आयोजित कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रममा उनले भने ‘धरानको कला, साहित्यमा नगरपालिकाले गर्दै आएको लगानी हर्क साम्पाङ आएपछि बन्द गरे ।’
नगरपालिकाद्वारा गठित धरान प्रज्ञा प्रतिष्ठान मार्फत वार्षिक २० लाख रुपैयाँ बजेट खर्च हुँदा धरानको कला, साहित्यको लागि वर्षभरी केही न केही काम हुँदै आएको बताउँदै उनले हर्क साम्पाङ आएपछि प्रतिष्ठान सहित बजेट बन्द गरिएको बताए ।
नगर प्रमुखमा तारा सुब्बा निर्वाचित भएपछि उनले धरानको कला, साहित्य र प्राज्ञिक गतिविधि सञ्चालन गर्न धरान प्रज्ञा प्रतिष्ठान गठन गरे । उपमहानगरपालिकाद्धारा गठित प्रतिष्ठान चलायमान बनाउन प्रत्येक वार्षिक बजेटमा प्रतिष्ठानकालागि छुट्टै शीर्षकमा बजेट विनियोजन हुँदै आएको थियो । 
उनको निधन पछि उपनिर्वाचनबाट आएका नगर प्रमुख तिलक राईको कार्यकालमा पनि कला, साहित्य तथा प्राज्ञिक गतिविधिका लागि नगरपालिकाको लगानी जारी थियो । 
नगरपालिकाले कला, साहित्यमा बजेट छुट्याउन बन्द गरेकोले अव धरानका २० वटै वडाले कला, साहित्यको लागि बजेट विनियोजन गर्नू पर्ने वडाध्यक्ष काफ्लेले आग्रह गरे । 
कार्यक्रममा प्रमुख अतिथि नेपाली साहित्यका वरिष्ठ समालोचक प्राडा.गोविन्दराज भट्टराईले कवि शिरोमणि लेखनाथ पौड्याललाई नेपाली साहित्यमा कसैसँग तुलना गर्न नसकिने बताए । 
समाजका अध्यक्ष डा. भवानीशंकर भट्टराईको सभापतित्वमा भएको समारोहमा मोरङ झोराहाटका कवि तथा नाट्यकर्मी ‘बार्बरिक’ भरतप्रसाद गुरागाईलाई सारा थापा प्रतिष्ठानद्वारा स्थापित वेदकुमारी÷खड्गप्रसाद १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गरियो ।
यसैंगरी इलामका स्रष्टा खोला घरे साइला गङ्गाप्रसाद अधिकारीलाई स्वर्गीय प्राध्यापक टिकप्रसाद बस्तीको स्मृतिमा स्थापित १० हजार रुपैयाँ राशीको टिका प्रसाद बस्ती पुरस्कारले सम्मानित गरियो ।
समाजद्वारा आयोजित १४२ औ कवि शिरोमणि लेखनाथ जयन्ती खुल्ला कविता प्रतियोगितामा १४ जना प्रतियोगी कविहरूले कविता वाचन गरेका थिए ।
वाचन गरेका कविताहरू माध्ये रोजिना विश्वकर्माको गरिबिको गणित कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ । वसन्त चालिसेको बा शीर्षकको कविता दोस्रो र प्रकाश नेपालीको बुढो मार्कर कविताले तेस्रो पुरस्कार प्राप्त गरेको छ । 
साथै कृष्णप्रसाद पौडेलको अनेकतामा एकता कवितालाई सान्तवना  पुरस्कार प्रदान गरिएको छ । पुरस्कार स्वरूप विजेताहरू प्रथम ११ हजार, दोस्रो ७ हजार, तेस्रो ५ हजार र सान्तवना पुरस्कार ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । 
कविता प्रतियोगीताका लागि नेपालभरबाट कुल १०० कविता प्राप्त भएको समाजले जनाएको छ । प्राप्त कविताहरू ३ सदस्यीय छनोट समितिले छनौट गरी १८ कविताका कविहरूलाई वाचनका लागि प्रतियोगितामा निमन्त्रण गरिएको बताइएको छ ।
kabi-1 1
kabi-3