इटहरी : नेपाली काँग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसैन (अन्सारी)ले सुनसरी क्षेत्र नम्बर ४ को टिकट पाएका छन् । जसपा नेता मोहम्मद इस्तीयाक राई, प्रदीप यादव, वीरगन्जका मेयर राजेशमान सिंह सहित एमाले प्रवेश गरेका उनलाई एमालेले उम्मेदवार बनाएको हो ।
एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसितको टिकट खोसेर एमालेले हुसैनलाई टिकट दियो । काँग्रेस पार्टी परित्याग गरी आएको भन्दै हुसेनले टिकट पाएका हुन् । उनले टिकट पाएपछि क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारीमा रहेका रेवती रमण भण्डारी भने आउट भएका छन् । भण्डारीलाई आउट गरेर कुसीयतले दुई नम्बर क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
हाल कोशी प्रदेशसभा सदस्य समेत रहेका भण्डारीले राजीनामाको तयारी गरिरहेको बेला एक्कासि टिकट खोसिएको थियो । भण्डारीको टिकट खोसेर कुसीयतले उम्मेदवारी दिने भए पनि एमाले कार्यकर्ताहरू सन्तुष्ट छैनन् । पुरानै नेतालाई क्षेत्र परिवर्तन गरेर पठाएको भन्दै स्थानीय कार्यकर्ताहरू रुष्ट छन् । हु सैनको कारण दुई नम्बरमा पकड रहेका भण्डारी र चार नम्बरमा लोकप्रिय कुसियतले टिकट पाएनन् । जसको असर निर्वाचन परिणाममा पर्ने देखिएको छ ।
यसअघि नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलको गठबन्धनमा समेत क्षेत्र नम्बर ४ मा कुसियत झिनो मतान्तरले पराजित बनेका थिए । स्थानीय स्तरमा बलियो पकड रहेका कुसियतलाई हटाएर २०७० सालको निर्वाचनमा तमलोपाबाट उम्मेदवार बन्दा २४६ मत पाएका हुसैनलाई एमालेले उम्मेदवार बनाएको हो ।
हुसैन काँग्रेसमा हुँदा समेत क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आलोचक थिए । व्यक्तिगत रूपमा तल्लो स्तरको गाली गर्ने गरेका हुसैन काँग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ समिति प्रति रुष्ट थिए । काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग पहुँच बनाएर हुसैनले आफूलाई शक्तिशाली रहेको देखाउने गरेका छन् ।