धरान : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनकालागि धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाएको छ।
शनिवार नेकपा कोशी प्रदेश कमिटीले भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारीको टिकट दिएको हो।
नेकपा धरान संयोजक उद्धव लिम्बुका अनुसार भट्टराईले पार्टीको तर्फबाट औपचारिक टिकट पाएका हुन्।
धरान उपमहानगरपालिका वडा नं. १७ का दुई कार्यकालसम्म निर्वाचित वडाअध्यक्ष रहेका भट्टराईले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा अत्यधिक मत ल्याउँदै लगातार दुई पटक विजय हासिल गरेका थिए। स्थानीय तहमा लामो समयदेखि सक्रिय भट्टराईको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
सुनसरी क्षेत्र नं. १ मा भट्टराईसँग धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ, तत्कालीन माओवादीका युवा नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म आधिकारिक उम्मेदवार सार्वजनिक गरेका छैनन्।
सुनसरी क्षेत्र नम्बर १ संसदीय निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वडा, वराहक्षेत्र नगरपालिकाका १ देखी ५ नम्बर सम्म पाँचवट वडा र रामधुनी नगरपालिका वडा नं. ६ र ७ समेटिएका छन्।
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई निर्वाचित भएका थिए।