विराटनगर : मुख्यमन्त्री हिकमतकुमार कार्कीले कोशी प्रदेशमा विकाशका पूर्वाधार निर्माण कार्य दिगो विकासको अवधारणामा अघि बढाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।
सडक पूर्वाधार निर्माण दीर्घकालसम्म टिक्ने गरी बनाउनुपर्ने कुरामा जोड दिदैं उनले भने ‘जेठ लागेपछि पिच बनाउन थाल्ने अनि असार नलाग्दै भत्किने भन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउनु पर्छ ।’
विराटनगरमा शनिवार सिमेन्ट उत्पादक सङ्घको कार्यक्रम मुख्यमन्त्री कार्कीले सा - साना कुरामा लोभिएर बलियो काम हुन नसकेको बताए । उनले भने ‘दिगो विकासका लागि स्वदेशी कच्चा पदार्थलाई प्रयोग गर्दै दीर्घकालसम्म टिक्ने काम गर्नुपर्छ ।’
मुख्यमन्त्री कार्कीले सडकको निर्माण कार्य अब जेठमा बनाउन सुरु गर्ने असारमा भत्किने होइन तरिकाले होइन समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्ने जरुरी भएको बताए ।
उनले कोशी प्रदेश सरकारले प्रदेशमै उत्पादित कच्चा पदार्थ उपयोग गर्ने नीति ल्याउने तयारी गरेको जानकारी दिँदै यसै वर्षदेखि कर्मचारीलाई पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने तयारी भइरहेको बताए ।
सङ्घीय सरकारले तोकेको रकममा प्रदेश सरकारले थप रकम दिएर कोशी प्रदेश उत्पादन हुने पोशाक लगाउने नीति अपनाइने मुख्यमन्त्रीको भनाई थियो ।
कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडक र दीर्घकालीन टिकाउको विषयमा नेपाल सरकारका पूर्व सचिव अर्जुनजंग थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा भएकोले मुलुक सिमेन्टमा आत्मनिर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेको थापाको भनाई थियो ।
उनले सिमेन्ट उत्पादन बढाएर नेपाली भूगोल अनुसार दीर्घकालीन टिकाउ सडक निर्माणमा स्वदेशी सिमेन्ट खपत गर्न सके देशले ठुलो लाभ लिने बताए । नेपाल उद्योग वाणिज्य कोशी प्रदेश अध्यक्षले सिमेन्टबाट सडक बनाउने प्रविधि संसारभर स्थापित हुन थालेको बताउँदै सिमेन्ट उत्पादन वृद्धि गर्नेमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेश सरकार र स्थानीय तहका इन्जिनियरहरू सहभागी थिए । कार्यक्रममा सिमेन्टको प्रयोगबाट कसरी टिकाउ र बलियो सडक बनाउन सकिन्छ भन्न विषयमा छलफल भएको सहभागी सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले बताए ।

































































