विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी आज (शुक्रबार) दिउँसो २ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । प्रेस सल्लाहकार ध्रुव सुवेदीले एक प्रेस नोट जारी गर्दै मुख्यमन्त्री राई आफ्नो निजी खर्चमा उपचार गर्न थाइल्याण्ड प्रस्थान गरेको जानकारी दिएका छन् । मुख्यमन्त्री कार्तिक २४ गते स्वदेश फर्कनेछन् । ‘उहाँको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने जानकारी गराइन्छ,’प्रेस नोटमा भनिएको छ,‘मुख्यमन्त्रीको उपचार खर्च निजी रहनेछ भने उहाँ कार्तिक २४ गते नेपाल फर्कनुहुनेछ ।’
प्रेस सल्लाहकार सुवेदीले मुख्यमन्त्री राई घाँटीको उपचार गराउन थाइल्याण्ड गएको जानकारी दिएका छन् । मुख्यमन्त्री राई विगत २ बर्षदेखि घाँटीको समस्याबाट पीडित छन् । उनको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतमा उपचार गराएपनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले प्रेस नोटमा खुलाएका छन् ।
निजी खर्चमा उपचार गर्न मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान
- कार्तिक १६, २०७५ / 770 पटक पढिएको









































































