विराटनगर:प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाइल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्हालेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री राईको सिफारिशमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी प्रदेश प्रमुखले कार्कीलाई तोकिएको जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चन्द्रप्रसाद फुँयालले विज्ञप्ती जारी गरेका छन् । यस्तै, आन्तरिक तथा कानुन मन्त्री कार्कीको सचिवालयले पनि प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाम्फेले मुख्यमन्त्रीले दैनिक सम्हाल्दै आएको प्रशासनिक कार्यको जिम्मेवारी मन्त्री कार्कीलाई दिएको जानकारी सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुखले मन्त्री कार्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको पत्रमा भनिएको छ,‘माननीय मुख्यमन्त्री शेरधन राई उपचारको सिलसिलामा विदेश जानुहुने भएकोले उहाँको अनुपस्थितिमा उहाँको सिफारिश बमोजिम तपाईलाई मुख्यमन्त्रीले सम्हाल्दै आउनुभएको दैनिक प्रशासनिक कार्य गर्न तोकिएको व्यहोरा अनुरोध छ ।’ मुख्यमन्त्री राई शुक्रबार दिउँसो घाँटीको उपचार गराउन थाइल्याण्ड प्रस्थान गरेका थिए । आफ्नै निजी खर्चमा उपचार गर्न बैंकक गएका राई कार्तिक २४ गते फर्कने बताइएको छ । उनी विगत २ बर्षदेखि घाँटीको समस्याले सताइएका थिए । नेपालमा विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता लाग्न नसकेपछि उनी थाइल्याण्ड गएका हुन् ।



































































