धरान : धरान उपमहानगरपालिका अन्तर वडा स्तरीय यु १८ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी धरान ६ ले चुमेको छ ।
एन्फा टेक्निकल सेन्टरमा शनिवार भएको फाइनल खेलमा धरान १३ बाल सञ्जाललाई ट्राईबेकरमा ५–३ले पराजित गर्दै धरान ६ ले तेस्रो संस्करणको उपाधि चुमेको हो । धरान ६ दोस्रो संस्करणको विजेता हो भने पहिलो संस्करणको उपविजेता समेत हो ।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा धरान ६ का अङ्कित तामाङ,तामुन थापामगर,पेरिस खत्री,लक्ष्मण लिम्बू,राम लिम्बुले गोल गरेका थिए ।
उपाधिसँगै धरान ६ ले नगद ३० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता धरान १३ ले नगद २०हजारमा चित्त बुझाउनु पर्यो । धरान १३का आयुग राई,हिमाल परियार,सयोग राईले गोल गरेका थिए भने होसन तामाङको गोल प्रहार विफल हुँदा पुलिस धरा१३ले उपबिजेतामा चित्त बुझाएको हो ।
पुस ३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा धरान उपमहानगरपालिकाका १८ वटै वडाबाट बाल सञ्जालको सहभागिता रहेको थियो।
विशेष अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानको ऐतिहासिक खेल संस्कृतिलाई अगाडि बढाउन सबै सरोकारवाला एकजुट हुन आग्रह गरे।बेघाले भने "विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सके" खेलमा भविष्य छ ।
विशेष अतिथि कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले फुटबलको विकास र यस खेलमा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिए। उनले फुटबललाई रोजगारी र करियरसँग जोड्न सके युवाहरू विदेश पलायन हुनबाट रोक्न सकिने उल्लेख गरे।
राईले विभिन्न तहमा सरकारी सहयोग अपरिहार्य रहेको बताउँदै युवाहरूलाई विदेशमा रोजगारीको खोजीमा जानबाट रोक्न फुटबलमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने "फुटबल केवल खेल मात्र नभई अनुशासन, नेतृत्व र रोजगारीको माध्यम बन्छ ।" धरानको फुटबलको केन्द्रका रूपमा विकास गर्न ठुलो बजेट आवश्यक रहेको उल्लेख गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
फाइनल खेलका अतिथि कार्यपालिका सदस्य सिर्जना नेपालले धरान उपमहानगरपालिकाको फुटबल खेलमा झुकाव रहेको बताईन ।
कार्यक्रम संयोजक रोजन शकरले बाल सञ्जालद्वारा आयोजित प्रतियोगितामा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अनुपस्थितिप्रति दुःख व्यक्त गरेका छन्। उनले नगरप्रमुख स्वयं उपस्थित हुने आश्वासन दिए पनि कार्यक्रममा नआएको बताए।
शकरले भने, “मेयर साब आउँछु भनेर आशा देखाउनु भयो, तर अन्तिम समयमा उपस्थित हुनु भएन। आउँछु भनेर प्रमाणपत्रमा हस्ताक्षरसमेत गराउनु भयो, तर नआउँदा हामी अभिभावकविहीन जस्तै भयौँ।” यो बालमैत्री कार्यक्रमप्रति देखाइएको गैरजिम्मेवार व्यवहार हो।”


































































