धरान : नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जी लामा शेर्पाले अस्थिर सरकारका कारण पहिचानको मुद्दा निर्णायक चरणमा पुग्न नसकेको बताएका छन्।
शुक्रवार नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सुनसरीको छैठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले पहिचानका लागि निरन्तर सङ्घर्ष भइरहेको उल्लेख गरे।
उनले भने “आज एउटा सरकारसँग वार्ता हुन्छ,भोलि अर्को सरकार आउँछ। यही कारण १ नम्बर प्रदेशको पहिचानको मुद्दा निष्कर्षमा पुर्याउन सकेनौँ।अझै हामी हारेका छैनौँ, हाम्रो पहिचानको मुद्दा यथावत् नै छ। तर हामी हाम्रो मुद्दा स्थापित गरेरै छाड्छौ।”
अध्यक्ष शेर्पाले मुक्कुमलुङ आन्दोलनको उदाहरण दिँदै पहिचानका लागि गरिएका आन्दोलनहरू तत्काल सफल नभए पनि सङ्घर्ष जारी रहेको बताए। बारम्बार सरकार परिवर्तन हुँदा पहिचानको मुद्दा निर्णायक मोडसम्म पुग्न नसकेको बताए ।
उनले पहिचानको सवालमा एकता,निरन्तर दबाब र सङ्गठित सङ्घर्ष आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा आन्दोलन अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।
धरान–१४ स्थित आदिवासी जनजाति बहु जातीय सङ्ग्रहालयको प्राङ्गणमा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको हो।
समारोहका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले जनजातिको अधिकार भाषण र नारामा मात्र सीमित भएको टिप्पणी गरे।
उनले भने, “जनजातिको अधिकार परिणाम देखिने गरी स्थापित गर्नुपर्थ्यो, तर पहिचानको विषयमा कोशी प्रदेशका आदिवासी जनजाति चिप्लिँदै गएका छौँ।”
उनले पहिचानको अधिकार सुनिश्चित गर्न विचारक, उत्पादक र परिपालक पक्षधर राजनीतिक शक्तिलाई मतदानमार्फत जिताएमा मात्र आदिवासी जनजातिको अधिकार सबै हिसाबले सुनिश्चित हुन सक्छ।
जिल्ला अध्यक्ष राम माण्डुपा राईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा २० वटै जातीय समुदायले सांस्कृतिक झाँकीसहित भानु चोकदेखि छाता चोक हुँदै र्याली समारोह स्थल प्रवेश गरेको थियो।
समारोहमा सङ्घीय तथा प्रदेश सांसद,धरानस्थित जातीय संस्थाका केन्द्रीय तथा प्रदेश पदाधिकारी, एकल जातीय संस्थाका जिल्ला अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ,नेपाल आदिवासी जनजाति युवा महासङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ तथा १२ वटा पालिकाका शाखा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अध्यक्ष माण्डुपा राईले संस्थाको बन्द सत्र केही समयपछि सुरु हुने र शनिवार सम्म महासङ्घले नयाँ नेतृत्व पाउने जानकारी दिए।



































































