धरान : नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)सुनसरीको छैठौँ जिल्ला अधिवेशन पौष ११ देखि १२ गते धरानमा आयोजना हुने भएको छ।
मङ्गलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा नेफिनले लागू गरेको एक जाति–एक कार्यकाल नीति अनुसार एक जातिले एक पटक मात्र अध्यक्ष पद पाउने व्यवस्था रहेको सुनसरीका अध्यक्ष राम माण्डुपा राईले बताए।उनले यस प्रणाली अन्तर्गत हालसम्म केही जातीय समुदायबाट अध्यक्ष चयन भइसकेको छ भने बाँकी जातीय समुदायले नेतृत्व पाउने पालो आएको अध्यक्ष राईले बताए ।
उनले भने‘ कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी पदाधिकारी हुन नपाउने र एकै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था लागू छ।’यसले सङ्गठनभित्र समावेशी नेतृत्व, समान अवसर र जातीय सन्तुलन सुनिश्चित गर्ने लक्ष्य राखेको अध्यक्ष राईले बताए।
अधिवेशनमा सङ्गठन सुदृढीकरण सहित नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजना, आदिवासी बहु जातीय सङ्ग्रहालयको कामलाई गति दिने,साथै जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण जस्ता विषयमा छलफल गरिनेछ।
अध्यक्ष राईले अध्यक्ष प्रणालीमार्फत हालसम्म शेर्पा, तामाङ, गुरुङ र राई समुदायबाट अध्यक्ष चयन भइसकेका छन्। अब बाँकी १६ जातीय समुदायले नेतृत्व पाउने पालो आएको छ।
नेफिन सुनसरीले मङ्गलवार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवेशनका मुख्य एजेन्डाबारे जानकारी दिएको छ। अध्यक्ष राईले अधिवेशनको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय श्रम सङ्गठन आर्ईएलओ महासन्धि नम्बर १६९ र संयुक्त राष्ट्रसङ्घीय आदिवासी अधिकार घोषणापत्र युएनडिपीआर २००७ को पूर्ण कार्यान्वयन रहेको बताए।
उनका अनुसार नेपाल सरकारले यी अन्तर्राष्ट्रिय कानुन अनुमोदन गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा चासो नदेखाएपछि आदिवासी अधिकारसम्बन्धी वकिल समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदै २०८२ जेठ २२ गते सर्वोच्च अदालतले सङ्घ,प्रदेश र स्थानीय—तीनै तहका सरकारलाई कार्यान्वयन निर्देशन समेत दिएको छ ।


































































