धरान : वन ऐन विपरीत धार्मिक वन क्षेत्रमा अवैध रूपमा सञ्चालन हुँदै आएको ‘सुम्निमा खिम सेकुवा’ रेस्टुरेन्टको भौतिक संरचना वन कार्यालयले हटाएको छ।

धरान–१५ स्थित किरात राई यायोक्खा वडा कार्यसमिति अन्तर्गतको धार्मिक वनको जग्गामा नियम विपरीत टहरा तथा संरचना निर्माण गरी मासु तथा मदिरा बिक्री–वितरण गर्दे आएको भन्दै सुनसरी वन डिभिजन कार्यालयले संरचना भत्काएको हो ।

सुनसरी वन डिभिजन कार्यालयका डिभिजन वन अधिकृत (डिएफओ) रितेश भूषण बस्नेतको नेतृत्वमा इलाका वन डिभिजन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले रेस्टुरेन्टका टहरा तथा अन्य भौतिक संरचना भत्काएको छ।

पञ्चकन्या सब–डिभिजन वनका अनुसन्धान अधिकृत श्यामप्रसाद सापकोटाले धार्मिक वनको जग्गामा नियम विपरीत सञ्चालन भइरहेको अवैध संरचना हटाइएको जानकारी दिए।

उनले भने, “हामीले पटक–पटक मौखिक रूपमा अवैध रेस्टुरेन्ट हटाउन आग्रह गरेका थियौँ। अटेर गरेपछि कानुनी कारबाही स्वरूप संरचना भत्काइएको हो।”सापकोटाका अनुसार २०८१ सालदेखि नै अवैध संरचना हटाउन पत्राचार हुँदै आएको भए पनि कार्यान्वयन हुन सकेको थिएन। “धार्मिक वनभित्र भाडामा पसल दिन मिल्दैन। वन ऐनअनुसार लिखित अनुमति बिना कुनै संरचना निर्माण गर्न पाइँदैन,” उनले भने, “मौखिक अनुमति कसले दिएको हो भन्ने विषयमा जानकारी छैन।”उनले भविष्यमा धार्मिक तथा सामुदायिक वन क्षेत्रमा यस्ता अवैध गतिविधि दोहोरिन नदिन कडाइका साथ अनुगमन र तत्काल कारबाही गरिने चेतावनी समेत दिए।

अवैध संरचना हटाइएसँगै रेस्टुरेन्ट सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ। साथै, क्षति पुगेको वन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरसफाइ गरी पुनः बिरुवा रोपण गरिने र समुदायसँग समन्वय गर्दै संरक्षण अभियानलाई थप प्रभावकारी बनाइने अनुसन्धान अधिकृत सापकोटाले बताए।

उक्त ‘सुम्निमा खिम सेकुवा’ पछिल्लो दुई वर्षदेखि धार्मिक वन क्षेत्रभित्रै मासु तथा मदिरा बिक्री–वितरण गर्दै सञ्चालनमा रहेको थियो।