इटहरी : इटहरीमा शनिवार देखी अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ। उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व विषयमा केन्द्रित दुई दिने सम्मेलनको उद्घाटन पूर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले गरेका हुन्।

जनता बहुमुखी क्याम्पसलाई पूर्वी नेपालको शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यसहित सुरु भएको सम्मेलनको पहिलो दिन चार वटा कीनोट प्रस्तुति गरिएको छ।

कीनोट प्रस्तोताहरूमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे, त्रिवि सिइएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की तथा क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास काठमाडौँका रोजर एफ. कोहेन रहेका छन्। सम्मेलनमा कुल चार वटा कीनोट स्पिच प्रस्तुत हुने कार्यक्रम छ।

सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषा शिक्षणलगायत विविध क्षेत्रमा कार्यरत विद्वान्, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकार बालाबिच अन्तर विषयक संवाद र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए।

उद्घाटन सत्रमा पूर्व रक्षा मन्त्री डा. रिजालले समयसापेक्ष शिक्षा प्रणालीका लागि नयाँ अध्ययन र अनुसन्धान अपरिहार्य रहेको उल्लेख गर्दै अनुसन्धानले देखाएको बाटोमै देशलाई रूपान्तरणको दिशामा अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति बढ्दै गएको जनवितृष्णाको सन्दर्भ उल्लेख गर्दै शिक्षाको सुधार र अनुसन्धानमार्फत नै वास्तविक परिवर्तन सम्भव हुने बताए।

आजकाल जहाँ पनि नेतामाथि मात्र गाली गर्ने प्रवृत्ति छ,” उनले भने, “यस्ता शैक्षिक सम्मेलनले समयअनुसार विषयवस्तु परिमार्जन गर्दै सकारात्मक परिवर्तनको बाटो देखाउनुपर्छ।”

इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताए। उनले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने गरी अब शिक्षामा अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेपालकै ठुला सामुदायिक कलेजमध्ये एक जनता बहुमुखी क्याम्पस विद्यार्थी सङ्ख्याको आधारमा अग्रस्थानमा रहेको छ। कोशी प्रदेशको केन्द्रमा अवस्थित र सबैका लागि पायक पर्ने भएकाले यो क्याम्पस विद्यार्थीहरूको रोजाइको केन्द्र बनेको क्याम्पस प्रशासनको भनाइ छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै निजी कलेजहरूलाई समेत अभिभावकत्व प्रदान गर्ने भूमिका खेलेको बताए। सम्मेलनमा चार देशका विदेशी वक्ता तथा नेपालका नाम चलेका शैक्षिक विज्ञहरूको प्रस्तुति रहेको छ भने सहभागीमध्ये अधिकांश कोशी प्रदेशकै रहेको जनाइएको छ।

जनता बहुमुखी क्याम्पसलाई ५१ लाख रुपैयाँको अक्षयकोष

इटहरीका उद्योगीव्यवसायी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। शनिवार सुरु भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन सत्रमा उनले उक्त घोषणा गरेका हुन्।

पौडेलले अक्षयकोष सञ्चालनका लागि चाँडै कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिने जानकारी दिए। धनकुटाको मारेकटहरेबाट व्यापारका लागि इटहरी झरेका पौडेल २१ वर्षको उमेरमा वसन्तपुरमा साझेदारीमा नुनको व्यापारबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। २०५६ सालदेखि इटहरीमा व्यवसाय गर्दै आएका उनले १० हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायलाई विस्तार गर्दै आज पूर्वी नेपालकै गनिने उद्यमीका रूपमा आफूलाई स्थापित गरेका छन्।

नुन व्यापारसँगै ढुवानी, क्रसर तथा निर्माण व्यवसायमा सफल पौडेल हाल इटहरी हलगढामा सोल्टी होटेल सञ्चालन, ताल तलैया नजिक ४० करोड रुपैयाँ लागतको नमुना पार्क, साथै विभिन्न क्षेत्रका व्यवसायमा वितरकका रूपमा समेत क्रियाशील छन्।

२० वर्षअघि नुनका बोरा ट्रकमा लोडअनलोड गर्ने पौडेल आज व्यवहार, संस्कार र सामाजिक उत्तरदायित्वका कारण चिनिने व्यवसायीका रूपमा परिचित छन्। उनले हजारौँलाई रोजगारी उपलब्ध गराउनुका साथै शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

इटहरीको मुक्ति धाम पुनर्निर्माणमा ५१ लाख रुपैयाँ सहयोगदेखि लेटाङ, कीर्तिमान, कमलपुरका सडक कालोपत्रे, विद्यालय तथा कलेज भवन निर्माण, सुधार केन्द्र, पार्क, खेलकुद संरचना निर्माणलगायत थुप्रै सामाजिक कार्यमा पौडेलको योगदान रहेको स्थानीयहरूले बताएका छन्।

antarastriya-samelan-2