इटहरी : उच्च शिक्षामा नवीनता,अनुसन्धान र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा यही पुस ५ गतेदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।
चार वटा देशका विदेशी विज्ञसहित नेपालका ख्यातिप्राप्त शैक्षिक विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । जनता बहुमुखी क्याम्पसलाई पूर्वाञ्चलको शैक्षिक हबको रूपमा विकास गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले सम्मेलनमा चार वटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चार वटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुति रहने जानकारी दिनुभयो । साथै अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला तथा ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुनेछन् ।
सम्मेलनका मुख्य नोट स्पिकरका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा। महानन्द चालिसे, त्रिवि सिइएनएएसका कार्यकारी निर्देशक डा। मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज ९न्यूयोर्क, अमेरिका० का डा। प्रेम फ्याक तथा भारतको बाबा मस्तनाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर एच।एल। वर्मा सहभागी हुने तय भएको छ ।
कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका १२ जना गरी कुल १६ जना प्लेनरी स्पिकर रहेका छन्, जसमा जनता कलेजकै दुई जना प्राध्यापक पनि सहभागी छन् । चार जना फिचर्ड स्पिकर रहनेछन् भने पोस्टर प्रदर्शनी, कार्यशाला र कन्करेन्ट सेसनका लागि छुट्टाछुट्टै प्रस्तुति रहनेछ ।
सम्मेलनका लागि खानपान, बसोबास, स्वागत, कार्यक्रम तालिका, प्रचार–प्रसार र आर्थिक व्यवस्थापनसम्बन्धी सबै समितिले तयारी पूरा गरिसकेको आयोजकले जनाएको छ ।सञ्चालक समिति अध्यक्ष केसीका अनुसार शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबीच अन्तरविषय संवाद र सहकार्यलाई प्रवर्द्धन गर्दै समसामयिक विश्वका चुनौती सामना गर्न समयसापेक्ष शिक्षा प्रणालीको रूपान्तरण र परिस्करणका लागि संरचनात्मक अध्ययन आवश्यक भएकाले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सहभागीबाट प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लिइनेछ । इटहरी उपमहानगरपालिकाले ७ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेको छ भने सुनसरीका अन्य स्थानीय तह, इटहरीका अधिकांश वडा कार्यालय तथा अन्य दाताबाट पनि सहयोग प्राप्त भएको अध्यक्ष केसीले जानकारी दिए।


































































