धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र चमेना गृह सञ्चालनका लागि भाडामा दिइएको भवनमा अहिले कपडा, फलफूल लगायतका सामानहरूको सपिङ सेन्टर सञ्चालन भइरहेको छ।
चमेना गृह सञ्चालनको सम्झौता भएपनि सपिङ सेन्टर सञ्चालन भएको देखिएपछि प्रतिष्ठानको सम्पत्ति व्यवस्थापन, करार पारदर्शिता र प्रशासनिक जिम्मेवारी माथि गम्भीर प्रश्न उठेको छ ।
प्रतिष्ठानका एक पदाधिकारीले भने ‘क्यान्टिन सञ्चालकले क्यान्टिन भनेर डिपार्टमेन्ट स्टाइलमा कारोबार गरिरहेका छन्, नियम विपरीत ‘हस्पिटल क्यान्टिन’ नाम नै प्रयोग गरेका छन्, यसबाट अस्पतालले नै चलाएको हो भन्ने भ्रम दिन्छ, तर त्यो हस्पिटलले सञ्चालन गरेको होइन ।’ उनले यस्तो कार्य प्रतिष्ठानको नियम र कानुन विपरीत भएको बताए ।
सम्झौता चमेना गृहको, सञ्चालन सपिङ सेन्टर
प्रतिष्ठान परिसरभित्रको पुरानो धर्मशाला भवन सुनिल क्याटिन तथा खुद्रा कपडा पसललाई ‘चमेना गृह’ सञ्चालनका लागि भाडामा दिएको छ। प्रतिष्ठानले २०८० चैत २२ गते सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसल काठमाडौँलाई तीन वर्षका लागि दिने सम्झौता गरेको थियो ।
सम्झौता पत्रमा प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौला र सञ्चालक रोशन साहले हस्ताक्षर गरेका छन् । क्यान्टिनको तर्फबाट विकेश शाह साक्षीमा बसेका छन् ।
सम्झौतामा स्पष्ट लेखिएको छ, ‘प्रतिष्ठान परिसर भित्र भाडामा लिएको स्थान चमेना गृह सञ्चालनका लागि मात्र प्रयोग गर्न पाइनेछ । अन्य व्यवसाय गर्न निषेध छ ।’ तर अहिले क्यान्टिनमा विभिन्न प्रकारका पेय पदार्थ, लत्ताकपडा, खाद्यान्न सामग्री र फलफूल समेतको पसल सञ्चालन भइरहेको छ ।
सम्झौतामा कुल मासिक भाडा ६ लाख २१ हजार ११६ बुझाउनु पर्ने उल्लेख छ । सम्झौता अवधि ३ वर्षको छ। भाडा हरेक वर्ष १० प्रतिशत वृद्धि गरिने, कम्तीमा ६ महिनाको भाडा बराबर धरौटी बुझाउनु पर्नेछ । अवैध वा अस्वीकृत व्यवसाय गरे सम्झौता स्वतः रद्द हुने व्यवस्था छ ।
प्रतिष्ठानका कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘चमेना गृहका लागि मात्र खोलिने सम्झौता थियो तर अहिले सपिङ सेन्टर बनेको छ, प्रतिष्ठानको जग्गा निजी व्यापारका लागि प्रयोग हुन दिन मिल्दैन ।’
अस्पताल उपनिर्देशकको स्वीकारोक्ति
प्रतिष्ठान अस्पतालका उपनिर्देशक डा. इन्द्र लिम्बूले क्यान्टिन सञ्चालकले नियम विपरीत व्यापार गरेको स्वीकार गरे । तर, कुनै आधिकारिक प्रतिक्रिया दिन चाहेनन् ।
रजिष्ट्रारको गैरजिम्मेवार प्रतिक्रिया
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले फोन सम्पर्कमा गैरजिम्मेवार प्रतिक्रिया दिए । सम्झौता विपरीत क्यान्टिन सञ्चालन गरिएको प्रश्न गर्दा उनले भने ‘तपाईँलाई के असर गर्यो ? केही असर गरेको छ भने भन्नुस्, फोनमा जवाफ दिन सक्दिन भेट्नुस् अनि कुरा गर्नु ।’
नियम विपरीत ‘हस्पिटल क्याटिन’ नामकरण
क्यान्टिन सञ्चालकले सम्झौतामा कतै उल्लेख नभएको, अधिकार नदिएको ‘हस्पिटल क्यान्टिन’ नाम नै प्रयोग गरेर सपिङ सेन्टर सञ्चालन गर्दै आएका छन् । यसबाट उक्त ‘हरेक मालको पसल’ वीपी प्रतिष्ठानको अस्पतालले सञ्चालन गरेको हो भन्ने भ्रम दिइएको छ । यो कार्य प्रतिष्ठानको नियम र कानुन विपरीत छ ।
पदाधिकारीको मिलेमतोमा सञ्चालकलाई आवास सुविधा
पदाधिकारी र कर्मचारीको मिलेमतोमा ५० हजारमा सञ्चालन भएको पिजी क्यान्टीनलाई हटाएर क्याटिन सञ्चालकलाई आवासका लागि प्रयोग गर्न दिइएको बिपी प्रतिष्ठान स्रोतले बतायो ।
स्रोतले भन्यो ‘पिजी क्यान्टिनले ५० हजार भाडा बुझाउँदै आएको थियो तर भाडादर वृद्धि लगायतमा पिजी सञ्चालक र प्रतिष्ठान बिच विवाद भएपछि पिजीलाई हटाएर ‘हस्पिटल क्याटिन सञ्चालकलाई १० हजारमा आवास सुविधाका लागि भाडामा दिएको छ ।’
भाडावालाको तर्क
सञ्चालक रोशन साहले भने ‘चमेना गृहमा आउने पाहुनालाई आवश्यक सामान उपलब्ध होस भनेर केही सपोर्टिङ पसल राखिएका हुन ।’ मुख्य सेवा चमेना गृहकै भएको उनले स्वीकार गरे । तर सम्झौतामा जे भए पनि व्यवसाय सञ्चालनमा कुनै रोकटोक नभएको सबै कारोबार गर्न अनुमति लिएको दाबी उनको छ ।
कानुनी अवस्था
सम्झौताको धारा २२ अनुसार, भाडावालाले सर्त उल्लङ्घन गरेमा प्रतिष्ठानले निष्कासन गरी क्षेत्र खाली गराउन सक्ने अधिकार राख्दछ । १५ दिनभित्र मालसामान नलिएमा लिलाम गरी बाँकी रकम असुल गर्न सकिने कानुनी प्रावधान पनि पत्रमा उल्लेख छ ।
परिसर बाहिरका व्यवसायीको भनाई
बिपी प्रतिष्ठान गेट बाहिरका व्यापारी शर्मिला सुनुवारले भनिन् ‘अस्पताल भित्र चमेना गृह सञ्चालन गर्ने भनेर लत्ताकपडा, फलफूल र इलेकट्रोनिक सामानहरूको व्यापार गर्न दिएर वीपीले गेटै नजिकको व्यवसायीहरूलाई अन्याय गरेको छ ।’
भित्रै हाट बजार जस्तो व्यापार हुन थालेपछि गेट बाहिर सेवाग्राहीहरूको लागि बसौँ देखी व्यापार गर्दे आएका व्यापारी मारमा परेको उनले बताए ।
गीता साहले भनिन् ‘त्यो क्याटिनले दोब्बर मूल्यमा सामान बेचेर बिरामी र कुरुवाहरूलाई ठग्ने पनि गरेको छ ।’ रातीको समयमा दोब्बर मूल्यमा सामान विक्री गरेर क्यान्टिनले बिरामी कुरुवाहरूको बाध्यतालाई पैसा कमाउने माध्यम बनाएको उनले बताइन् ।
क्यान्टिनमा सपिङ सेन्टर जस्तै सामान विक्री गर्ने काम त्यसै भएको होइन, प्रतिष्ठान भित्रको अधिकारीहरूको सेटिङमा यस्तो भएको हुनसक्ने उनको भनाई छ ।


































































