धरान : पहिलो पटक जिम्मेवारी सम्हाल्न धरान आउने प्रहरीका अधिकृतलाई यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक विविधताका बिच कसरी कार्य गर्न सकिएला भन्ने अन्यौलता हुने कुरा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश जवेगुले बताएका छन् ।
सामाजिक सद्भाव बिथोलिने आशङ्का बढेको बेला धरानमा पहिलो पटक इलाका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेको अनुभव सुनाउँदै उनले भने ‘धरान बाहिरबाट हेर्दा जस्तो लागेको थियो यहाँ आएर जिम्मेवारी सम्हाल्दा त्यस्तो लागेन ।’
धरानबाट भक्तपुर जिल्ला प्रहरीमा सरुवा भएका डिएसपी जवेगुलाई हार्दिकता पूर्वक बिदाइ गर्न किरात याक्थुङ चुम्लुङ धरान नगर समितिद्वारा आयोजित कार्यक्रममा उनले उक्त अनुभव सुनाएका हुन । आदिवासी जनजातिको बाहुल्यता भएको सहर भएकाले धरानलाई संशयपूर्वक बुझ्ने गरेको उनले बताए ।
उनले भने ‘तर यहाँको नागरिक समाज, राजनीतिक दलहरूका अगुवाहरू, युवाहरू, सामाजिक संस्थाहरूको समझदारीपूर्ण व्यवहारका कारण धरानको सामाजिक, सांस्कृतिक, धार्मिक सद्भाव र सौहार्दता कायम रहँदै आएको मेरो अनुभव रह्यो ।’ यो समझदारी निरन्तर रहने उनले विश्वास व्यक्त गरे ।
धरानको मुख्य समस्या लागुऔषध दुव्र्यन र ओसार पसार भएको बताउँदै जेनजी प्रदर्शनको क्रममा भएका अप्रिय घट्नाको तथ्यबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै भने ‘उच्च स्तरीय जाँचबुझ आयोग गठन भएको छ दोषीहरू उपर कारबाही हुने नै छ ।’
किरात याक्थुङ चुम्लुङ जस्तो संस्थाले समुदायलाई सामाजिक मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले भाषा, लिपी, सांस्कृतिक क्षेत्रमा चुम्लुङले समुदायलाई निकै अघि बढाएको बताए ।
उनले भने ‘अब याक्थुङ समुदायका युवाहरूलाई बिदेसिने भन्दा राज्यको जिम्मेवार निकायमा समावेश गराउन चुम्लुङले शैक्षिक उत्प्रेरणका कार्यक्रमहरू अघि बढाउनु जरुरी छ ।’ युवाहरू बिदेसिने क्रमले भोली आफ्नै थातथलो खोज्दै विदेशबाट टुरिष्ट भएर नेपाल आउनु पर्ने अवस्था आउन नहुने उनको भनाई थियो ।
राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले आदिवासी जनजातिका युवाहरू पनि राज्यको जिम्मेवार निकायको नेतृत्व गर्न योग्य र सक्षम भएको कुरा डिएसपी प्रकाश जवेगु एक उदाहरण भएको बताए । योग्यता र क्षमता भएको याक्थुङ युवाहरूले अब देश भित्रै अवसर खोज्नु पर्छ भन्ने उत्प्रेरणा जरुरी भएको उनको भनाई थियो ।
चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले डिएसपी जवेगु याक्थुङ युवाहरूका लागि उदाहरण भएको बताइन् । कार्यक्रममा चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, जिल्ला अध्यक्ष शिव सुब्बा, पूर्व अध्यक्ष तथा सांस्कृतिक अभियन्ता मोहनकुमार हुक्पाचोङ पनि उपस्थित थिए ।
लिम्बु पत्रकार सङ्घ सुनसरी अध्यक्ष स्वर्णिमहाङ लिम्बुले सञ्चालन गरेको कार्यक्रम चुम्लुङ नगर समिति कार्यवाहक अध्यक्ष ललिता नेम्बाङको सभापतित्वमा भएको थियो ।
DSP chumlung