महिलाहरूको यौन इच्छा कुन समयमा बढी हुन्छ ? बिहान उठ्ने क्षणमा वा बेलुकी दिनभरको थकान पन्छाएर विश्राम गर्ने बेला ?

यो प्रश्न सामान्य देखिए पनि यसको उत्तर सजिलो छैन, बरु जटिल छ, किनभने महिलाको यौन इच्छा कुनै निश्चित घडी वा घण्टामा सीमित हुँदैन। यसलाई जैविक हर्मोन, मानसिक अवस्था, सामाजिक संरचना, जीवनशैली, सम्बन्धको गुणस्तर र व्यक्तिगत रोजाइ जस्ता थुप्रै आयामहरूले निर्धारण गर्छन् ।

वैज्ञानिक अध्ययनहरूले देखाएका छन् कि बिहानको समयमा महिलाको शरीरमा पनि टेस्टोस्टेरोनको स्तर केही बढ्ने गर्दछ, जुन पुरुषमा जस्तै यौन इच्छामा योगदान गर्ने महत्त्वपूर्ण हर्मोन हो, तर महिलामा यो मात्रा पुरुषभन्दा निकै कम हुने भएकाले प्रभाव अपेक्षाकृत सीमित हुन्छ।

केही महिलाले बिहान ताजगीसहित यौनिक ऊर्जा महसुस गर्ने सम्भावना रहन्छ । तर यही समयमा अर्को हर्मोन कोर्टिसोल उच्च हुन्छ, जुन तनाव नियन्त्रक हर्मोन हो र बिहान उठ्ने क्षणमा शरीरलाई सक्रिय बनाउन काम गर्छ, तर जब यसको मात्रा अत्यधिक हुन्छ, यसले यौन चाहनालाई दबाउन सक्छ । त्यसैले, बिहान केही महिलाका लागि सम्भावना भए पनि धेरै महिलाको प्राथमिकता घरधन्दा, बच्चाको हेरचाह, कार्यालयको तयारीजस्ता जिम्मेवारीमा केन्द्रित हुने भएकाले व्यवहारमा बिहान यौन सम्पर्कका लागि सबैभन्दा अनुकूल समय नहुन सक्छ।

अर्कोतर्फ, बेलुकी दिनभरको दौडधूप र जिम्मेवारी सकेपछि आत्मीय समय बिताउने अवसर हुन्छ, जसमा पार्टनरसँग संवाद, स्नेह र सहानुभूति बाँड्न सकिन्छ र यिनै क्षणहरूमा ‘अक्सिटोसिन’ भनिने प्रेम वा बन्धन हर्मोन सक्रिय भई दुईबिच भावनात्मक निकटता बढाउँछ, जसले यौन इच्छालाई प्रबल बनाउन सहयोग पुर्‍याउँछ । तर यहाँ पनि फरक पाटो छ, धेरै महिलाका लागि दिनभरको शारीरिक र मानसिक थकानले उनीहरूलाई यौन सम्पर्कभन्दा आराम र निद्रातर्फ बढी आकर्षित गराउँछ । यसर्थ, महिलाको यौन इच्छा बिहान वा बेलुकीमा कति हुन्छ भन्ने कुरा केवल हर्मोन वा शरीरको घडीले मात्र होइन, दैनिक जीवनशैली र मानसिक सन्तुलनले पनि निर्णायक रूपमा असर गर्छ ।

यसैगरी, महिलाको मासिक चक्रले पनि यौन इच्छामा ठुलो भूमिका खेल्छ। विशेषतः महिनावारी सकिएपछिको ओभ्युलेसन चरणमा, जब डिम्ब निष्कासन हुन्छ, त्यस बेला प्राकृतिक रूपमा यौन इच्छा उच्च हुने देखिन्छ, चाहे त्यो बिहान होस् वा बेलुकी ।

मनोविज्ञानका दृष्टिले महिलाहरूको यौन इच्छा शुद्ध शारीरिक हर्मोनमा मात्र सीमित हुँदैन, बरु प्रेम, विश्वास, सम्मान र सुरक्षाको भावनासँग गहिरो सम्बन्ध राख्छ। सम्बन्धमा आत्मीयता, संवाद र आपसी समझदारी भए मात्र इच्छा प्रकट हुन्छ, अन्यथा कर्तव्य वा दबाबका कारण यौन सम्पर्क बोझजस्तो लाग्न सक्छ ।

सामाजिक दृष्टिले हेर्दा संस्कृतिले पनि समयप्रतिको धारणा प्रभावित गर्छ। कतिपय समाजमा बिहानलाई पवित्र समय मानिन्छ, जसमा धार्मिक वा पारिवारिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने चलन छ भने बेलुकीलाई आत्मीयता र रोमान्सको समयका रूपमा चित्रण गरिन्छ, जसले महिलाको सोचमा पनि अप्रत्यक्ष प्रभाव पार्छ ।

यसबाहेक, व्यवहारिक जीवनशैली र व्यक्तिगत स्वभाव पनि निर्णायक हुन्छ, केही महिला ‘मर्निङ पर्सन’ हुन्छन्, जसले बिहान ऊर्जावान् महसुस गर्छन् र त्यस समयमा अन्तरङ्गता सहज पाउँछन्, भने अरू ‘नाइट आउल’ हुन्छन्, जसले राति बढी सक्रिय महसुस गर्छन् र बेलुकी वा रातको समय नै उत्तम ठान्छन् ।

यस्ता विविध कारकहरूबिच एक कुरा भने साझा छ- महिलाको यौन इच्छा कुनै घडीको सुईसँग बाँधिएको हुँदैन, बरु भावनात्मक र सामाजिक वातावरणसँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।

समाज अझै पनि महिलाको यौन इच्छाबारे खुलेर कुरा गर्न सङ्कोच गर्ने प्रवृत्ति राख्छ, तर आधुनिक अध्ययनहरूले देखाउँछन् कि महिलाले पनि पुरुषजस्तै यौनिक चाहनालाई स्वाभाविक रूपमा अनुभव गर्छन्, फरक केवल यसको प्रकट हुने तरिका, समय र प्राथमिकतामा हुन्छ । त्यसैले, बिहान वा बेलुकी कुन उत्तम भन्ने बहसभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने दुवै पार्टनर बिच आपसी समझदारी, संवाद र विश्वास कस्तो छ ? जब दुवै जनाले आपसी चाहना, मानसिक शान्ति र शारीरिक तयारीसहित प्रेमको भावनाले अन्तरङ्ग क्षण बाँड्छन्, त्यही समय नै उत्तम हुन्छ ।

कहिलेकाहीँ बिहानको स्फूर्ति र नयाँ ऊर्जाले सम्बन्धमा ताजगी ल्याउन सक्छ भने कहिलेकाहीँ बेलुकीको शान्त र रोमान्टिक वातावरणले सम्बन्धलाई अझ गहिरो बनाउन सक्छ । त्यसैले, महिलाको यौन इच्छाको समयलाई निश्चित रूपमा बिहान वा बेलुकी भनेर टुङ्ग्याउनु वैज्ञानिक रूपमा सम्भव छैन, बरु यसलाई व्यक्तिगत स्वभाव, जीवनशैली, मानसिक स्वास्थ्य, सामाजिक वातावरण र यौन पार्टनरसँगको आत्मीय सम्बन्धले निर्धारण गर्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।