धरान: किरात याक्थुङ चुम्लुङको ३७ औँ स्थापना दिवसको अवसरमा चुम्लुङद्वारा विभिन्न जिल्लामा वितरण गरिने छात्रवृत्तिमा सुनसरीको धरानकी एक छात्रालाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
चुम्लुङ धरान उपमहानगर समितिद्वारा आयोजित स्थापना दिवस समारोहमा धरान–१९ किरातेश्वर मावि कक्षा ११ की छात्रा ममता लिम्बुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
चुम्लुङ केन्द्रीय समितिद्वारा सञ्चालित विभिन्न छात्रवृत्ति मध्ये ममतालाई श्रीमती खेममाया सिंगक (आङबुङ) छात्रवृत्ति अक्षयकोष ललितपुरबाट छात्रवृत्ति रकम प्रदान गरिएको हो । कार्यक्रममा चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष शिव सुब्बाले रकम हस्तान्तरण गरेका हुन ।सोही अवसरमा याक्थुङ /लिम्बु समुदायबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरेका÷नियुक्त भएका पदाधिकारीहरू,नो केबलकार आन्दोलनमा ताप्लेजुङ पुगेर स्थलगत रिपोर्टिङ गर्ने सञ्चारकमर्भीहरुलाई सम्मान पत्र प्रदान गरियो ।
चुम्लुङ धरान उपमहानगर कार्यवाहक अध्यक्ष ललिता नेम्वाङको सभापतित्वमा भएको समारोहमा केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवा प्रमुख अतिथि थिए ।
धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघा, धरान–१५ का वडाध्यक्ष नरेश ईवराम,चुम्लुङ सल्लाहकार दुर्गामाय लिम्बु लगायतले शुभकामना मन्तव्य प्रकट गरे । सञ्चालन नगर सदस्य बुद्रोस लिम्बुले गरेका थिए ।स्थापना दिवसको अवसरमा साँझ धरान–१५ चुम्लुङ हिम र भानु चोकमा दीपावली गरिएको थियो ।