धरान: लिम्बु जातिको मुन्धुममा उल्लेख भएको धागोले बनाइने मृत्यु छेक्ने यन्त्र ‘सिलाम साक्मा’ जिउँदो मानिसको जीवन रक्षाका लागि प्रयोग गरिने भएकोले यसलाई तथा यसको चिन्ह मृत्यु भैसकेको मानिसको लागि प्रयोग गर्न नहुने मुन्धुम साम्बाले बताएका छन् ।
पछिल्लो समय धरान लगायतका शहरी क्षेत्रमा मृत्यु भएको मानिसको सिमेन्टको चिहानमा ‘सिलाम साक्मा’ चिन्ह अंकित गर्ने प्रचलन बढेकोप्रति असन्तुष्टि प्रकट गर्दै मुन्धुम साम्बा मनकुमार लाबुङले भने ‘सिलाम साक्मा जिउँदो मानिसको जीवन रक्षाका लागि प्रयोग गरिने भएकोले मरेका मानिस वा चिहानमा प्रयोग गर्न हुँदैन ।’
किरात याक्थुङ चुम्लुङको ३७ औँ स्थापना दिवसको अवसरमा धरान–१९ वडा चुम्लुङद्वारा हरियाली सामुदायिक बन पार्कमा निर्मित सिलाम साक्मा र च्याब्रुङको प्रतिमा अनावरण समारोहमा आज मङ्गलवार बिहान उनले उक्त कुरा बताएका हुन ।
उनका अनुसार सिलाम साक्मा जीवित मानिसको खराब दिन दशा छेक्न, दुःख विमारमा सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै मृत्यु रोक्न जीवन रक्षाका लागि प्रयोग गरिने मुन्धुम अहिले पनि प्रचलनमा छ । मुन्धुम साम्बा लाबुङले भने ‘जिउँदो मानिसको लागि प्रयोग हुने सिलाम साक्मा मरिसकेको मानिसको चिहानमा राख्नु हुँदैन, यो गलत हो र यसको म विरोध गछु ।’
पहिले र अहिले पनि पहाडतिर मृत्यु भएको मानिसको सम्झनामा बनाइने चौतारा, पाटी, पौवा र चिहानको शिलालेखमा चन्द्र, सूर्यको चिन्ह अंकित गरेको पाइने बताए । चन्द्र, सूर्य राख्नुको कारणबारे े व्याख्या गर्दै उनले भने ‘त्यो चन्द्र, सूर्यको चिन्ह मरेको मानिस औँसी, पूर्णिमा कुन तिथि, दिउँसो, राती कुन घडीपालामा मरेको हो त्यो बुझ्ने गरी चिन्ह त्यसै अनुसार बनाइने गरिन्छ ।’
लिम्बु जातिको सांस्कृतिक बाज च्याब्रुङ शुभ कार्यमा बजाइने, नचिने बाजा भएको उनले बताए । च्याब्रुङको उत्पत्तिको मुन्धुम सुनाउँदा साम्बा लाबुङले भने ‘माइतीले नयाँ घर बनाएको खुसीयालीमा चेलीलाई नबोलाएपछि त्यो घर धमिराले खाएर नष्ट भएको वर्णन मुन्धुममा आउँछ ।’
उनका अनुसार चेलीले कहिल्यै धमिरा नलाग्ने खमारीको काठबाट च्याब्रुङ बनाएर घर प्रवेश गर्दा चेलीबेटीलाई निम्ता गरी बजाउन भनेपछि च्याब्रुङको उत्पत्ति भएको हो । उनले भने ‘च्याब्रुङ बनाउँदा कहिल्यै धमिरा नलाग्ने खमारीको काठबाट बनाउनु पर्दछ, किराले खाने काठ च्याब्रुङ बनाउन प्रयोग गर्नु राम्रो हुँदैन ।’
हरियाली पार्कमा निर्मित सिलाम साक्मा र च्याब्रुङको प्रतिमा कार्यक्रमका प्रमुख अतिथि धरान–१९ का वडा अध्यक्ष पूर्ण लिम्बुले अनावरण गरेका थिए । प्रतिमा कुल ५ लाख ९२ हजार रुपयाको लागतमा निर्माण गरिएको हो । धरान–१९ वडा चुम्लुङले यसअघि बालक चौकमा पनि यस्तो प्रतिमा स्थापना गरेको छ ।
उक्त अवसरमा चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगन्द्र पालुङवा, केन्द्रीय सदस्य सङ्गीता सुब्बा, पूर्व जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, निर्माण समिति संयोजक देउमान ताप्मादेन, मुदेनक्याक एभेङ कल्याणकारी समाजका अध्यक्ष हर्कजंग एभेङ, चौकी बारी महिला समूह अध्यक्ष निर्मला गुरुङ लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
चुम्लुङ धरान–१९ का अध्यक्ष प्रेम इधिङको सभापतित्वमा भएको कार्यक्रममा सहसचिव रविना सुब्बा गुरुङले स्वागत भाषण गरेकी थिइन् । सचिव बसन्ती थेबेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।