धरान : देश, विदेश र आसपासका जिल्ला, गाउँबाट धरानमा आउने तरकारीमा अत्याधिक विषादी पाइएकोले अब खान हुने नहुने जाँच गरेपछि बिहान ५ बजे पछि मात्र तरकारी बजार खुला गरिने भएको छ ।
विषादीको जाँच यसअघि धरान-१३ कृषि थोक बजारमा आउने तरकारीहरूमा मात्र गरिन्थ्यो । अब घुम्ती टोलीले धरान-३ को पालिका तरकारी बजार, धरान-२/९ को भानु चौकको सब्जी मण्डी र धरान-११ को मङ्गलवारे बजारमा पनि विषादी जाँच गर्ने भएको छ ।
गत: महिना मकवानपुरबाट ल्याएको फुल कोपीमा मानव स्वास्थ्यका लागि हानिकारक परिमाणमा विषादी पाइएको थियो । पछिल्लो पटक रायोको सागमा पनि विषादी भेटिएपछि विषादी जाँच गरी तरकारी बजारमा एक रुपता ल्याउन ५ बजे देखी मात्र खुदरा बजारमा तरकारी विक्री गर्न पाउने नियममा कडाइ गरिएको हो ।
धरान उपमहानगरपालिकाका उपप्रमुख, द्रुत विषादी विश्लेषण इकाई समितिका संयोजक अईन्द्र विक्रम बेघाले विषादी परीक्षण तथा आपूर्ति व्यवस्थापन गर्न बिहीबार सर्वपक्षीय छलफल पछि उक्त निर्णय गरिएको बताए ।
उनका अनुसार आज बिहीबार बिहान कृषि थोक बजारको सभा हलमा भएको छलफलले ६ बुद्धे निर्णय गरेको छ । नियमहरू भोली शुक्रवार देखि नै लागु हुनेछ । बेघाले भने ‘विषादी मुक्त शहर बनाउन गरिएको निर्णय अक्षारांश कार्यान्वयन भएमा धरान विषादी मुक्त शहर हुन्छ ।’
धरानका सबै क्षेत्रको बजारलाई प्रविधिसँग जोड्दै कृषि बजार व्यवस्थापन समितिले निर्धारण गरेको बजार मूल्य, विषादीको मात्राहरू एकै पटक डिस्प्ले हुने होडिङ बोर्डबाट जानकारी गर्ने व्यवस्था गरिने भएको छ । बेघाले भने ‘तर उपमहानगरपालिको बजेट नबनेका कारण होडिङ बोर्ड तत्काल सञ्चालन गर्न सकिएन अवस्था छैन, बजेट बनेपछि तुरुन्त लगाउने छौँ ।’
विषादी जाँच पनि किटको अभावका कारण कृषि थोक बजार बाहेक स्थलगत रूपमा परीक्षण नभएको उनले बताए । भने ‘तर तुरुन्त व्यवस्था गर्छौ ।’ छलफलले विषादी जाँचको कुरा अन्तर जिल्ला समन्वय गर्ने निर्णय गरे पनि क्षेत्राधिकारको कुरा समन्वय गर्न बाँकी रहेको बताए ।
बेघाका अनुसार ल्याब परीक्षण गरेर तरकार ब्राणिङ गर्ने कुरामा व्यवसायीहरू आतङ्कित भएकोले अव विषादी परीक्षण नगरी सामान विक्री गरे दण्ड जरिवाना तोकिने छ । भने ‘अव नगरपालिकाले बजार नियमन गर्दे विधि र नियम बनाउने र त्यस अनुसार सबैलाई कारबाही हुन्छ ।’
अव धरान भरीका थोक तथा खुद्रा बिकेता सम्म गएर परीक्षण हुन्छ । परीक्षण गर्दा ल्याब टेस्ट सही आए मात्र बजारमा सामान बिक्री गर्न पाइने छ । कृषि बजार व्यवस्थापन समितिमा रहेको विषादी विश्लेषण इकाई परीक्षणलाई प्रभावकारी बनाइने छ ।
थोक कारोबार लाई केन्द्रित गरी ल्याब परीक्षण गरी मात्र उपभोक्ता बजार पठाउने निर्णय भएको छ भने धरान नगर भित्रका सबै बजार लाई एकरूपता गर्न बिहान ५ बजे बाट बजार खोल्ने निर्णय कार्यान्वयन समेत हुने भएको उपप्रमुख बेघाले बताए ।
पूर्व मेयर मनोज मेन्याङवोले समयमा फलफूल तथा सागसब्जी परीक्षण नभएको बताए । दुई सिफ्टमा कर्मचारी व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ। ल्याबमा पर्याप्त कीटको व्यवस्था भएन भने परीक्षणको नाममा कृषकलाई दुःख दिने काम मात्र गर्न नहुने उनले बताए ।
नेपाली काग्रेस धरान सभापति श्याम पोख्रेलले ल्याब परीक्षणले व्यापारी आतङ्कित पार्ने काम मात्र भयो यस्तो कार्यले संस्था जीवित रहँदैन । उनले भने‘नत्र भने चौतर्फी नियन्त्रण गर्न सकिँदैन भने उपप्रमुखले कारबाही गर्ने र काम गर्ने अधिकार छैन भने पदमा बसिरहन अर्थ नभएको बताए ।
निवर्तमान उपप्रमुख मञ्जु भण्डारीले तल्लो स्तरमा विषादी जाँच कार्यान्वयन नभएको बताईन । स्थानीय सरकारको नीति नियम कमजोर भएको उनको भनाई थियो ।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले थोक व्यापारी नियन्त्रण गर्नुपर्ने बताए । काफलेले बजार छिटै खोल्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
ल्याब प्रमुख रुपेश रिजालले ल्याब ल्याब जस्तो नरहेको बताए । ल्याबमा एसि नचलेको, दिउँसो टेस्ट गर्न सकिने वातावरण नभएको बताए । बिहान ५ बजे भन्दा अगाडी ल्याब रिपोर्ट बाहिर ल्याउन नसकिने उनको भनाई छ । विषादी परीक्षण हाल सम्म लगभग २९०० पटक भएको बिषदी ७ देखि ८ वटामा मात्र पाईएको जानकारी उनले दिए ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले विषादी चेक गर्ने भाँडो मात्र देखाएर नहुने कीट व्यवस्था गर्नु पर्ने बताउँदै कृषि जार भित्र मात्र टेस्ट भयो ढोका बाहिर चेक नभएको बताए । व्यापारीहरूले निराशा पैदा भएको गुनासो गर्दै बिहान ३ बजे देखि व्यापार हुन्छ तर ल्याब टेस्ट रिजल्ट ५ बजे मात्र आउँदा व्यापारीहरूको ढाड सेक्ने काम मात्र भएको गुनासो राखेका थिए ।