धरान : काठमाण्डौमा भएको हिमालयन क्वीन्स ग्याम्बिट बुद्धिचाल प्रतियोगितामा १४१ खेलाडीलाई पछि पार्दै प्रिसियस अधिकारी च्याम्पियन बनेकी छन् । उनले शतप्रतिशत जित सहित ७ अङ्क जोड्दै उपाधि जितेकी हुन् ।
हिमालयन चेस एकेडेमीद्वारा आइतबार सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ ६ दशमलव ५ अङ्क लिएर उपविजेता भइन् ।
७ देखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अङ्क सहित तेस्रोमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहे ।
अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ‘सोसल इयर २०२५ अगस्ट’मा विश्वभर आयोजित ८ प्रतियोगिता मध्ये एसिया महादेशको प्रतियोगिता नेपालमा आयोजना गरिएको हो ।
स्विस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा १४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो सहभागिता नेपाली बुद्धिचालमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो ।
प्रतियोगितामा विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रोमा रहे । यु १० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो भए । यु १३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राजभण्डारी तेस्रो भए । यु १६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहे ।
५० वर्षमाथि भेट्रना प्रतिस्पर्धामा रुक्मणि जिमी च्याम्पियन भइन् भने राधा राई उपविजेता भइन् । शुभानी पण्डितले बेस्ट एचसीए, आकृति नगरकोटीले बेस्ट जेभियरियन, रोशिका श्रेष्ठले बेस्ट स्पोर्टसम्यानसिप, स्मारिका डुम्रेले राइजिङ प्लेयर, सूक्ष्मायंका जैशीले बेस्ट इम्प्रुभ्मेन्ट अवार्ड हात पारे ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, काठमाण्डौं-४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर कलेजका भाइस प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे कसिन फर वुमेन्स चेसकी सदस्य मोनालिशा खम्बूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिन् ।