धरान : नेवार समुदायका सांस्कृतिक परम्पराका नृत्य नयाँ पुस्तामा हस्तान्तरण गर्न इटहरीमा एक महिने प्रशिक्षण पाएका ३०० बालबालिकाहरूले शनिवार एक साथ नृत्य प्रदर्शन गरेका छन् ।
जनता माविको प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरूले नेवार जातिको लाखे नाच, धिमे बाजा, चर्या नृत्य र घिन्ताङ घिसी नृत्य प्रदर्शन गरेका हुन ।
उनीहरूलाई इटहरी नृत्यकर्मी समूहले १ महिने प्रशिक्षण दिएको हो । प्रशिक्षण अवधि सकिएपछि समापनको अवसरमा नृत्यकर्मी समूहले सार्वजनिक प्रस्तुति आयोजना गरी समापन कार्यक्रम आयोजना गरिएको संयोजक तथा समूहका उपाध्यक्ष प्रनिसा उदासले बताइन् ।
समापनको कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले नृत्यकर्मी समूहको प्रशिक्षणबाट बदलिँदो परिवेशको अतिक्रमणले ओझेलमा परेका नेपालको मौलिक सांस्कृतिक नृत्यहरू नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताइन् ।
उनले भनिन् ‘नेवा: संस्कृति नेपालको सबै भन्दा पुरानो मौलिक संस्कृति हो ।’ सांस्कृतिक नृत्य संरक्षणका लागि बालबालिकालाई दिइएको प्रशिक्षण प्रशंसनीय भएको बताउँदै उनले प्रमुख प्रशिक्षक प्रनिसा उदास र भक्तपुरबाट आएका प्रशिक्षक महेशप्रकाश हाँडाप्रति आभार प्रकट गरिन् ।
समूहका अध्यक्ष आइश्वर लिम्बुको सभापतित्वमा भएको समारोहमा इटहरी उपमहानगरपालिका मेयर हेम कर्ण पौडेल, वरिष्ठ शिक्षा सेवी लेखनाथ घिमिरेले बालबालिकाको प्रतिभाको प्रशंसा गरेका थिए ।
newar-dance