धरान : चलचित्र ‘जारी–२’च्याबुङको इतिहास र महत्त्व दर्साउँदै टिजर सार्वजनिक भएको छ ।वर्ष २०८० कै सफल चलचित्र जारीले १०० दिन मनाउन सफल भएसँगै “जारी–२” को सिक्वेल टिजर रिलिज भएको हो ।
दुईबर्ष अघि नेपाली चलचित्र हेर्ने दर्शकहरूको लागि फरक स्वाद र अनुभवको कोसेली दिएका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले “जारी–२” मा फेरी दर्शकहरूको लागि मिठो कोसेली तयार पारेका टिजरले प्रष्ट पारेको छ ।
जारी को लिम्बु परिवारको रहन सहन र रीतिरिवाजलाई प्रस्तुत गरिएको थियो भने अहिले “जारी–२” मा लिम्बु समुदायकै महत्त्वपूर्ण बाजा च्याब्रुङको इतिहास र महत्वलाई प्रस्तुत गरिएको टिजरमा देख्न सकिन्छ ।
लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको टिजरमा यति सम्मको च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गरिएको छ ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रूपमा निर्माण गरेको “जारी–२” को सब टाइटल नै सङ अफ च्याब्रुङ लेखिएको छ । बाँसुरी फिल्म र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जारी को पहिलो सिक्वेलमा अधुरो रहेको कथा पुरा भएको छ ।
जारीमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर बिचको पारिवारिक झमेला अर्थात् बच्चा नहुला आएको दैनिक कलह थियो तर, रिलिज गरिएको “जारी–२” को टिजरमा करिब ५/६ वर्षको छोरी देख्न सकिन्छ ।
यसै गरी बुवा आमाको अन्तरजातीय विवाहका कारण विवाह हुन नसकेको अर्का मुख्य कलाकार विजय बरालको विवाह भएको कुरा टिजरको सुरुवातमै देखाइएको छ ।
यसबाट के स्पष्ट हुन्छ भने चलचित्र “जारी–२” मा जारी मा रहेको अधुरो कथा पुरा हुनेछ र दर्शकहरूको लागि एक सर्प्राइज उपहार पनि हुने छ ।
चलचित्रमा दयाहाङ राई र मिरुना मगरको अलावा विजय बराल बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा,माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
जारी ब्लकबस्टर चलचित्र भएकोले पनि “जारी–२” निर्माण घोषणा भएदेखि नै प्रतिक्षित बनेको छ र निर्देशकलाई पनि एक चुनौतीको रूपमा देखिएको छ । चलचित्र यही असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।