धरान : डिपो स्कुलद्वारा आयोजित चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको बिहीबार भएको उद्घाटन खेलमा प्रभात स्कुलले तेस्रो संस्करणका विजेता सियोन स्कुललाई ३०-२५ अङ्कको अन्तरले पराजित गरेको छ ।

कोशी प्रदेश सभा सदस्य विजयकुमार राई प्रमुख अतिथि रहेको उद्घाटन खेलको पहिलो क्वाटरमा प्रभात ११-९ अकले अघि थियो । दोस्रो क्वाटरमा सियोन स्कुलले ९-७ अङ्कको अग्रता बनाउँदै मध्यान्तर सम्ममा समान १८-१८ अङ्क जोड्दै बराबरी पुग्यो ।

तेस्रो र चौथो क्वाटरमा भने प्रभात स्कुलले ६-३ र ६-४ अङ्कको अग्रता बनाउँदै साबिक विजेता सियोन स्कुललाई पराजित गर्दै पहिलो चरणबाट बाहिरिएको छ । बिहीबार भएका खेलहरूबाट प्रभात स्कुल, आइडल स्कुल, काम्रेल स्कुल र हिमशिखर स्कुल तरहरा विजयी भएका छन् ।

उद्घाटन खेलको म्यान अफ द म्याच सियोन स्कुलका खानुहाङ राई घोषित भए । प्रतियोगिताको तेस्रो संस्करणमा सियोनले प्रभात स्कुललाई नै फाइनलमा पराजित गर्दै उपाधि चुमेका थियो ।

पहिलो दिन भएको अन्य खेलमा आइडल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६-१०, काम्रेल स्कुलले व्राइट फ्युचर स्कुल मोरङलाई ५०–९ र हिमशिखर स्कुल तरहराले माउण्ट हर्मन स्कुललाई ४०-१३ अङ्कको अन्तरले पराजित गरेको छ । 

खेलमा आइडल स्कुलका किरण पौडेल, काम्रेल स्कुलका प्रत्युस भुजेल र हिमशिखर स्कुलका नियोन राई म्यान अफ द म्याच घोषित भए ।

उद्घाटन समारोहको सभापतित्व व्यवस्थापन समिति अध्यक्ष अम्बरवहादुर लिम्बूले गरेका थिए । उनले विद्यालयका पूर्व अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बूले विद्यालयमा पुर्‍याएका योगदान बारे चर्चा गरेका थिए ।

प्रतियोगितामा आयोजक डिपो सहित इस्ट होराइजन वोर्डिङ्ग स्कुल झापा, ग्रीनफिल्ड वर्ल्ड स्कुल झापा, लिटल फ्लावर स्कुल झापा, हिमशिखर स्कुल तरहरा, पूर्वाञ्चल वोर्डिङ्ग स्कुल तरहरा, प्यारडाइस वोर्डिङ्ग स्कुल तरहरा, माउण्ट हर्मन स्कुल, काम्रेल स्कुल, व्राइट फ्युचर स्कुल मोरङ, समिट स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्ली पब्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कुल, सियोन स्कुल र धरान मेघा हिमालयन स्कुल गरी १८ टिम सहभागी छन् ।

डिपो स्कुलका प्राचार्य राजकुमार राईका अनुसार कक्षा १० सम्मका खेलाडीहरू सहभागी रहेको अन्तर स्कुल प्रतियोगिता विजेता टिमले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफि, मेडल पाउने छन् । व्यक्तिगत विधामा मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने गर्नेछ ।