धरान : धरान–१६ मा बालिकासँग यौन दुर्व्यवहारको घटनाका मुख्या आरोपी पक्राउ गरिए पनि २ महिना अघिको घटना ढाकछोप गर्ने ४ जनालाई कारबाही गर्न बाल सञ्जाल धरानले माग गरेको छ ।
सञ्जालले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला न्यायाधिवक्ताको कार्यालयमा ध्यानाकषर्णपत्र बुझाउँदै कारवाहीको माग गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, एसपी सुमन तिम्सीना, सरकारी वकिललाई ध्यानाकषर्णपत्र बुझाएको छ ।
प्रजिअ मिश्रले कारबाही हुने आश्वासन दिएको बाल सञ्चालले जनाएको छ । आरोपित खगिन्द्र राई थप अनुसन्धानको दायरमा रहेको उल्लेख गर्दै राईलाई भगाउनेहरूलाई पनि कारवाहीका दायरामा ल्याउने आश्वासन दिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी सहितलाई बुझाइएको ध्यानाकर्षण पत्रमा यौन दुर्व्यवहारजस्तो गम्भीर विषयलाई गुपचुप राख्न मतियारको रूपमा घटनालाई ढाकछोप गर्ने धरान १० बस्ने अन्दाजी ६० वर्षका कुन्दन श्रेष्ठ, धरान १६ बस्ने अन्दाजी ४५ वर्षको शेखर जोगी, धरान ११ बस्ने अन्दाजी ४० वर्षको समीर तामाङ र धरान ७ बस्ने अन्दाजी ५५ वर्षको निश्चल पालिखेलाई कारबाही गर्न माग गरिएको छ ।
पत्रमा घटनालाई विषयान्तरण गर्न खोज्ने धरानका नगरप्रमुख हर्क साम्पाङ लाई पनि कानुनी कारबाही गरियोस् भनी लागि माग गरिएको छ । मुख्य आरोपी पक्राउ परे पनि घट्नासँग सम्बद्ध दोषीहरू खुल्ला हिँडडुल गरेर नेपालको प्रचलित कानुनलाई खुल्ला चुनौती दिएको बाल सञ्जाल धरानले ठानेको पत्रमा उल्लेख छ ।
भनिएको छ ‘घटनालाई दुई महिनासम्म ढाकछोप गर्न मतियारकोरुपमा रहेकाहरू सार्वजनिकरुपले घुमिरहनु बाल सञ्जालको लागि सुखद विषय बन्न सकेको छैन ।’ बालिकाप्रति यौन दुर्व्यवहार भएको घटना दबाउन मतियारको भूमिका खेल्नेहरू सार्वजनिक स्थलमा घुमिरहेको विषय पीडित बालिका कोलागि थप पीडाको विषय र कानुनी राज्यप्रतिको उपहास बनेको पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा बाल सञ्जालका रोजन शङ्कर, शिवप्रसाद घिमिरे र सागर तामाङले हस्ताक्षर गरेका छन् । पत्र बुझाउन उनीहरू सहित समूहका सदस्यहरू सहितको टोली इनरुवा गएको थियो ।