धरान: क्यान्सर पीडित वरिष्ठ रेडियो पत्रकार कवीन्द्र शेर्मालाई उपचारका लागि लिम्बु पत्रकार संघव्दारा सङ्कलित १ लाख ३६ हजार रुपया आज आइतबार शर्माकै हातमा हस्तान्तरण गरिएको छ ।
२०४६ सालको परिवर्तन पछि पाँचथर सहित पहाडी जिल्लाहरूका एफएम रेडियो स्थापना, सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याएका वरिष्ठ पत्रकार शेर्मा लामो समय रेडियो नेपालमा कार्यरत थिए । जीवनको लामो कालखण्ड रेडियो पत्रकारितामा बिताएका शेर्मा क्यान्सर रोगको उपचारका लागि आर्थिक समस्यामा छन् ।
उनले भने ‘पत्रकारितामा लागेपछि यसैमा रमाइयो पैसा कमाउने कुरामा ध्यान गएन, अहिले क्यान्सर लागेपछि थाहा भयो बाँच्न पैसा चाहिँदो रहेछ ।’ जीवनभर पत्रकारितामा योगदान गरे पनि सरकारले उपचारको लागि सहयोग गर्दैन रहेछ भन्न थाहा पाएको उनले बताए ।
आम्दानीको श्रोत नभएको उपचारको औक्षधिमुलो महँगो भएको बेला साथीभाइ, शुभचिन्तकको सय रूपमा सहयोग पनि ठुलो लाग्ने बताउँदै उनले भने ‘अहिले सम्म सहयोगकै भरमा उपचार भइरहेको छ तर, थप उपचारका ला भारतको दिल्ली जान पर्ने भएकाले देश, विदेशका सह्रिदयी, शुभेच्छुक दाताहरूबाट सहयोगको अपेक्षा राखेको छु ।’
भक्तपुर क्यान्सर अस्पतालमा घाँटीको क्यान्सरको उपचारका क्रममा शर्माले ‘किमो’ ‘रेडिएसन’ उपचार पुरा गरेका छन् । तथापि क्यान्सर क्युर नभएकाले उनी उपचारका लागि भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पताले जाने सहयोग जुटाउँदैछन् ।
त्यहाँ ५० देखी ६० लाख रुपया लाग्ने बताइएकाले सहयोग जुटे क्यान्सर मुक्त भई अरू १५÷२० वर्ष सक्रिय जीवन बिताउन आत्मविश्वास आफूमा भएको उनले बताए । भने ‘ममा आत्मबल र आत्मविश्वास भएकोलेनै अहिले सम्मका क्यान्सरको जटिल उपचार झुल्न सकेँ ।’
उनको सहयोगका लागि लिम्बु पत्रकार सङ्घले सल्लाहकार निलिफा सुब्बाको संयोजकत्वमा ‘कवीन्द्र शेर्मा उपचार सहयोग सङ्कलन समिति’ गठन गरेको थियो । उनलाई हस्तान्तरण गरिएको रकम उक्त समितिले सङ्कलन गरेको सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बा सेन्लपले बताए ।
धरान–१५ चुम्लुङ हिम स्थित सङ्घको कार्यालयमा केन्द्रीय अध्यक्ष सहित सल्लाहकार मोहनकुमार हुक्पाचोङवाङबाट, हर्ष सुब्बा, भैरव आङगला, जिल्ला अध्यक्ष स्वर्णियमहाङ लिम्बु लगायतले रकम हस्तान्तरण गरेका हुन ।