धरान : क्यान्सर पीडित मजदुर नेता धरान-८ का प्रदीप केप्छाकीलाई उपचारका लागि ५८ हजार २७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त सहयोग रकम अखिल नेपाल ट्रेड युनियन महासंघ धरानले सङ्कलन गरी शनिवार हस्तान्तरण गरेको हो ।

महासंघ धरानद्वारा चाडपर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमका बिच प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, ३ महिने अभियान धरान इन्चार्ज अजम्बर काङमाङ, महासंघ जिल्ला  अध्यक्ष लीला प्रधान लगायतले रकम हस्तान्तरण गरेका हुन ।

कार्यक्रमको सभापतित्व महासंघ का धरान नगर अध्यक्ष छविलाल विष्टले गरेका थिए । क्यान्सर रोगी मगर ५ महिना देखि सिभिल सर्भिस हस्पिटल काठमाण्डौमा उपचार गराई रहेका छन् । ब्लड क्यान्सर रोगी मगरलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्न डाक्टरहरूले सल्ला दिएका छन् ।

ट्रान्सप्लान्ट गर्न ३५ लाख रुपैयाँ लाग्ने बताइएको छ । पीडित मगरको उपचारमा अहिले सम्म १२ लाख खर्च भैसकेको श्रीमती निशा श्रेष्ठले बताइन् । उनले सहयोगी दाताहरूलाई सहयोग रकम जुटाइदिन आग्रह अपिल गर्दे श्रीमानलाई बचाइदिन याचना गरेकी छन् ।

सहयोग गर्न इच्छुक दाताहरूले नविल बैङ्कको धरान शाखाको खाता नम्बर १०५१००१७५०२०७० मा रकम जम्मा गर्न सक्ने छन् । क्यान्सर पीडित मगरको ४ छोरा छोरी, आमाबाबा श्रीमती गरी ८ जनाको परिवार छ । मगर घर बनाउन मिस्त्री काम गर्ने मजदुर हुन ।