धरान : नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग राखेर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने पक्षमा आफू सकारात्मक रहेको बताएका छन् ।
काठमाडौँ स्थित देउवा निवासमा आज शनिवार धरानको सर्वदलीय टोलीले प्रतिष्ठानलाई छाता ऐनमा लैजान नहुने, प्रतिष्ठानको सिनेटले विश्वविद्यालय ऐन पारित गरिसकेकाले विश्वविद्यालय बनाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको थियो ।

सभापति देउवालाई टोलीले २०८० चैत ३० गते बसेको वीपी प्रतिष्ठानको ४५ औँ सिनेट बैठकले वीपी कोइराला चिकित्सा विज्ञान विश्वविद्यालय मस्यौदा ऐन पारित गरिसकेको स्मरण गराउँदै सिनेटको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाउन सहयोगका लागि अनुरोध गरेका थियो ।
हाल सरकारले प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ नामक छाता ऐनमा लैजान लागेकोप्रति धराने जनताको असहमति रहको टोलीले ध्यानाकर्षण गराएको थियो ।
टोलीमा सहभागी काँग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार सभापति देउवाले वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई साँघुरो बनाउन नहुने धारण व्यक्त गरे । पोखरेलले भने ‘सभापति देउवाले पार्टीका महामन्त्री गगन थापासँग समन्वय गरेर यस विषयमा काम गर्नु पार्टीको तर्फबाट म पनि महामन्त्रीलाई भन्छु भन्नु भएको छ ।’
बीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूको प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।
यसैगरी पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस महामन्त्री गगन थापालाई भेटेर ध्यानाकर्षण गराइसकेको छ ।
टोलीमा नेपाली काँग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा एमाले कोशी प्रदेश मौसम राई, नेकपा माओवादी धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी अध्यक्ष ताजुब लिम्बू र धरान-१७ वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई सहभागी थिए ।
टोलीमा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, काँग्रेस कोशी प्रदेश सदस्य कुसुम ओली आचार्य, काँग्रेस धरान सचिव हिमाल श्रेष्ठ, सरोज सिटौला लगायत सहभागी थिए ।