झापा : काेशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न सहरहरूमा रोड साे कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएको छ ।

'रोड साे' कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, विराटनगरको ऐतिहासिक स्थल, सङ्खुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ ।
कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन र काेशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको काेशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवम् पर्यटनकर्मी वासुदेव बरालले बताए ।
पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौँका ३ स्थानमा र पोखराका २ स्थानमा रोड साे सम्पन्न भएको छ । रोड साे अब चितवन, हेटौडा र जनकपुरमा आयोजना गरिने काेशी प्रदेश पर्यटन वर्ष २०८२ मूल आयोजक समितिका सदस्य राजन दंगालले जानकारी दिए ।
कार्यक्रममा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शन, स्थानीय कला संस्कृति प्रस्तुतीकरण र काेशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिइएको दंगालले बताए ।
काेशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड साे कार्यक्रमहरूले देशभर काेशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । उनले भने, "काेशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार प्रसार गर्ने अभियानमा छौँ ।"
स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।