धरान : नेकपा एमाले कोशी प्रदेशका सबै जिल्ला पार्टी सङ्गठनको आर्थिक कारोबार अब नगदमा गर्न नपाइने अनिवार्य बैङ्क मार्फत गर्नुपर्ने भएको छ । 
भेडेटारमा आइतबार सम्पन्न केन्द्रीय लेखा आयोगको कोशी प्रदेशका १४ वटै जिल्लाका लागि भएको आर्थिक तथा लेखा व्यवस्थापन तालिममा उक्त घोषणा गरिएको हो ।
दुई दिन चलेको प्रशिक्षण समापनमा गरिएको २१ बुँदे सामूहिक प्रतिबद्धतामा उक्त कुरा उल्लेख छ ।
बैंकिङ कारोबारले पार्टी भित्रकोआर्थिक पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
घोषणापत्रमा भनिएको छ ‘पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैङ्कमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने छ ।’
तालिममा सहभागी लेखासँग सम्बद्ध जिल्ला, महानगर/नगर’उपमहानगर कमिटीहरूले लेखा परीक्षण अनिवार्य गर्ने,बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । 
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने प्रतिबद्धतामा उल्लेख छ । 
एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको सभापतित्वमा भएको समापनमा स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले शुभकामना प्रकट गरेका थिए ।