इटहरी : पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा प्राध्यापक सङ्घले लगाएको ताला स्थानीयले खोलेका छन् । विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर कल्याणी मिश्र (त्रिपाठी) नियुक्त भएपछि प्राध्यापकहरूले असन्तुष्टि जनाउँदै लगाएको ताला स्थानीयले खोलका हुन् । 
गत वैशाख १० गते स्थानीय सरोकारवाला र सम्पूर्ण राजनीतिक दलहरूले विश्वविद्यालयलाई बन्द, हडताल निषेध घोषणा गरेका थिए । विभिन्न बहानाका बारम्बार तालाबन्दी भएपछि विश्वविद्यालयको गरिमा घट्दै गएको र अराजकता मौलाएको भन्दै स्थानीयले सचेतता पूर्वक बन्द निषेध घोषणा गरेका हुन् । उता प्राध्यापकहरूले असार ३ गते विभिन्न माग राखेर तालाबन्दी गरेका थिए । 
असार ४ गते बुधवार नेपाली काँग्रेस नगर सभापति भक्ति प्रसाद सिटौलाको नेतृत्वमा गएको टोलीले ताला फोडेको हो । विश्वविद्यालयमा बन्द, तालाबन्दी जस्ता ध्वंसात्मक विरोधका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको उनको भनाइ छ । 
सम्मानित र पवित्र संस्था“बन्द निषेधित, तथा शान्ति क्षेत्र” भएको कुरा अवगत गराउँदै उनले सबैले मिलेर प्राज्ञिक गतिविधिलाई बढाउनुपर्ने बताए । विश्वविद्यालय सहयोग,सरोकार तथा समन्वय समितिका संयोजक समेत रहेका सिटौलाले आगामी दिनमा दलीय वा गैर दलीय मुद्दा बोकेर कुनै पनि हालतका विश्वविद्यालय बन्द नगर्न आग्रह गरे । 
विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष यज्ञ जमरकट्टेल यसको नतिजा शुभ नहुने बताउँछन् । विश्वविद्यालयमा काबिल जनशक्ति हुँदाहुँदै अन्यत्रबाट रजिस्ट्रार नियुक्त गरिएकोमा उनले आपत्ति जनाए ।
विश्वविद्यालयको जनशक्ति प्रति अविश्वास गरेर सरकारले अन्य विश्वविद्यालयबाट रजिस्ट्रार ल्याएर गलत गरेको उनको भनाइ छ ।
tala-fodeko