इटहरी : सुनसरी जिल्लाका स्थानीय तह नगरपालिका/उपमहानगरपालिका स्थानीय पत्रकारिताको विकास र स्थायित्वप्रति उदासीन रहेको नेपाल प्रेस युनियन सुनसरीद्वारा आज शनिवार आयोजित अन्तरक्रियामा सहभागीहरूले बताएका छन् ।
युनियनको ३४ औँ स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाउने क्रममा आयोजित पहिले कार्यक्रम अन्तरक्रियाका सहभागीहरूले उक्त गुनासो गरेका हुन । उनीहरूले स्थानीय पत्रकारद्वारा सञ्चालित अनलाइन मिडियालाई उपमहानगर/नगरपालिकाहरूले समानुपातिक विज्ञापन नदिँदा मिडिया बन्द गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
सञ्चारिका समूहकी सुनसरी अध्यक्ष रञ्जना पौडेलले व्यवस्थापन खर्च समेत धान्न नसक्ने अवस्था आएपछि आफूले सञ्चालन गर्दै आएको मिडिया बन्द गर्न लागेको बताइन् । बन्द गर्नका लागि उपमहानगरपालिकाको सिफारिस पठाउन समेत नगर प्रमुख नहुँदा ढिलाइ भएको उनको भनाई थियो ।
कोले न्यूज अनलाइनका सञ्चालक रोहित कुलुङ राईले धरान उपमहानगरपालिकाले स्थानीय विज्ञापन दिने सूचिबाट आफ्नो अनलाइनको नाम हटाएर विज्ञापनबाट वञ्चित गरेको बताए ।
फोनिज प्रदेश उपाध्यक्ष सुप्रिया राईले स्थानीय सरकारहरूको कसैलाई काखा कसैलाई पाखा गर्ने नीतिका कारण साना मिडियाहरू स्थानीय साधन श्रोतबाट वञ्चित हुनु परेको बताइन । उनले साना मिडियालाई निरन्तरता दिन सङ्गठित रूपमा आवाज उठाउनु पर्ने बताइन् ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले श्रमजीवी पत्रकारहरू पनि हिजोआज कोही युट्युबको माध्यमबाट धेरै कमाउने र कोही मिडिया हाउसबाट पारिश्रमिकै नपाउने दुई किसिममा बाँडिएको अवस्था रहेको बताए ।
अन्तरक्रियामा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अमर खड्का, युनियनका कोसी प्रदेश सचिव विनय बाराकोटी, पूर्व अध्यक्ष चेतन धमला, पत्रकार महासङ्घ उपाध्यक्ष अर्जुन सुवेदीले युनियनले बदलिँदो सञ्चार प्रविधि, श्रमजीवी पत्रकारको हकहितको बारेमा गम्भीर बन्नु पर्नेमा जोड दिए ।
अन्तरक्रियामा पत्रकार महासङ्घ सुनसरीमा उत्पन्न अन्यौलता चाँडो अन्त्य गर्न महासङ्घको कोसी प्रदेश समिति तथा केन्द्रीय समितिलाई ध्यानाकर्षण गराउने बारेमा पनि चर्चा भएको थियो । अन्तरकृयाको सभापतित्व जिल्ला अध्यक्ष ध्रुव ढकालले गरेका थिए ।