धरान : सेवानिवृत प्रधानाध्यापक गोकुलप्रसाद श्रेष्ठले पञ्चायती कठिन शासनकालमा शिक्षकहरूका हितका लागि समन्वयकारी भूमिका निर्वाह गरेको शनिवार उनको आत्मकथा पुस्तक ‘अविश्राम यात्रा’को विमोचन समारोहमा वक्ताहरूले चर्चा गरे ।

शिक्षा निकेतन मावि धरान, महेन्द्रनगर मावि चक्रघट्टी, भगवती मावि इनरुवाका प्रधानाध्यापक रहिसकेका श्रेष्ठले उदयपुरबाट २०२५ सालतिर शिक्षा सेवामा प्रवेश गरेका हुन । सेवा निवृत्त भएपछि पनि उनी संस्थागत शिक्षा सेवामा सक्रिय छ । धरान-१२ स्थित सिटी कलेजका उनी संस्थापक हुन ।

तिसौँ वर्षको शिक्षा सेवाकालमा तत्कालीन पञ्चायती प्रशासनको कोपभाजनमा धेरै शिक्षकहरू पीडित हुन्थे । त्यस्तो अवस्थामा प्रधानाध्यापक श्रेष्ठले शिक्षक र प्रशासन बिच समन्वयकारी भूमिका खेलेको चर्चा गर्दै प्रमुख अतिथि प्राडा. टङ्क न्यौपानेले भने ‘लोकतन्त्रको पक्षमा शिक्षकहरू विभाजित भएको अवस्थामा गोकुल सर कुनै पक्षमा नलागी तटस्थ बसेर खेल्नु भएको समन्वयकारी भूमिका स्मरणीय छ ।’

पञ्चायतकालको शिक्षक आन्दोलनमा पनि श्रेष्ठले झापा, मोरङ, सुनसरी देखी सप्तरी सम्म पुगेर समन्वयकारी भूमिका खेलेको प्राडा. न्यौपानेले बताए । उनको आत्मकथा पुस्तक पढेपछि मात्र आफूलाई श्रेष्ठको सङ्घर्षशील जीवनको बारेमा बुझ्ने अवसर मिलेको उनले बताए ।

शिक्षासेवी लेखनाथ घिमिरेले श्रेष्ठसँगै शिक्षण गरेका दिनहरूको स्मरण सुनाउँदै भने ‘गोकुल सर शिक्षाको क्षेत्रमा एक कुशल प्रशासक थिए ।’ शिक्षकहरूको आत्मसम्मानप्रति संवेदनशील व्यवहारले आफूलाई प्रभावित बनाएको उनले बताए ।

पुस्तकको समीक्षा गर्दै डा.दीपक न्यौपानेले उनको आत्मकथामा जीवनको पूर्वार्धमा शिक्षा हासिल गर्न श्रेष्ठले गरेको यायावरको अवस्था प्रेरणादायी रहेको बताए । पुस्तकमा आत्मकथा मात्र नभई उनको वंशावली समेत समेटिएकाले पुस्तक संग्रहनिय बनेको उनको भनाई थियो । उनले भने ‘हजुर’बा देखी नाति सम्मका ससाना स्मरणीय घट्नाहरु पढ्दा उहाँको स्मरणप्रति मलाई आश्चर्य लाग्यो ।’

पुस्तकका सम्पादक पत्रकार भोजराज श्रेष्ठले भने ‘गोकुल सरको आत्मकथा उहाँको मात्र हाेइन्, हजुरबाको, बुवाको, छोराको र नातिको पनि कथा हो ।’ पुस्तकको रूपमा प्रकाशित हुनुअघि सम्म ती कथाहरू गोकुल सर वा उनको परिवारमा सीमित थियो तर पुस्तक प्रकाशित भएपछि यो समाजको भएको उनले बताए ।

विमोचन समारोह सिद्धि नेवा: परिषद्ले आयोजना गरेको हो । श्रेष्ठ परिषद्का पूर्व अध्यक्ष हुन । परिषद्का वर्तमान अध्यक्ष प्राध्यापक राजविमल श्रेष्ठको सभापतित्वमा भएको विमोचन समारोहमा कोशी प्रदेश सभाका सदस्यद्वय रमेश बस्नेत र यशोदा कायस्थले शिक्षा सेवा श्रेष्ठको आत्मकथा नयाँ पुस्ताका लागि प्रेरणादायी रहेका बताए ।