इटहरी : इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माण सम्पन्न हुने म्याद गुज्रिएको तीन महिना पुरा भयो । इटहरी चोकबाट धरान र विराटनगरतर्फ ४ करोड ५१ लाख ६३ हजारमा निर्माण हुन लागेको आकासे पुल निर्माण अलपत्र परेको हो ।

२०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि दुई वटा पुल निर्माण भएको सम्झौता भएको थियो । रिजेन्सी बिल्डर्स प्रालीले धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माण गर्नेगरि जिम्मा लिएको थियो । २०८० फाल्गुनमै भएको सम्झौता कार्यान्वयन नहुँदा म्याद थपको लागि कम्पनीले उपमहानगरपालिकामा निवेदन दिएको छ ।

ठेक्का आह्वान अगावै उपमहानगरपालिकाले सडक विभाग सँग समन्वय नगर्दा अल्झिएको निर्माण प्रक्रिया कहिले सुरु हुने यकिन भएको छैन । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगर तर्फ हटिया लाइनमा आकासे पुल बनाउन लागिएको हो ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार म्याद थपको प्रक्रिया भइरहेको र चाँडै निर्माणको काम सुरु हुन्छ । सडक विभागबाट अनुमति पाइसकिएको बताउँदै उनले ६ लेन सडक आयोजनाले पनि स्वीकृति दिएको उनले बताए ।

यसअघि उपमहानगरपालिकाले ६ लेन सडक आयोजनालाई समन्वय गर्न आग्रह गरे पनि सडक विभागको अनुमति लिएर आउन भनेपछि काम रोकिएको थियो । काठमाण्डौको नयाँ बानेश्वरकै शैलीको पुल अपाङ्ग नागरिकले प्रयोग गर्न नसक्ने गरी निर्माण हुन लागेको छ ।