धरान : प्रहरीले धनकुटा शहिदभूमि-६ का ३५ वर्षीय राजेश राईलाई बुधवार बोलेरो गाडिमा गाँजा लिएर हिँडेको अवस्थामा गाँजा र गाडी सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनलाई इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले साँगुरीगढी-६ बाट पक्राउ गरेको हो ।
राईले हाँकेको को १ ज ३१६२ नम्बरको बोलेरो चेकजाँच गर्दा गाडी भित्र लुकाई राखेको १० केजी गाँजा र बोलेरो सहित उनलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी झापा गाउँपालिका-३ बाट ५१ वर्षीया देखन राजवंशीलाई डेढ केजी गाँजा सहित इलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
मेचीनगर- ७ का २३ वर्षीय अजय राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीले ३४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका ६ का ४० वर्षीय परमानन्द साहलाई इलाका प्रहरी कार्यालय झिलझिले झापाले २ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
मोरङ बेलबारी २ का १९ वर्षीय आयुष राई र १९ वर्षीय शिवम उरावलाई प्रहरी चौकी गछियाले प्रतिबन्धित औषधी ट्रामाडोल ५९० क्याप्सुल, स्पास्मो ३८० ट्याब्लेट र एन्टिकोफ १९६ ट्याब्लेट सहित पक्राउ गरेको छ ।