तनहुँ : तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा रहेको बन्दीपुर अस्पतालमा बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म निःशुल्क ओपिडी सेवा सुरु भएको छ ।
बन्दीपुर अस्पताल कार्य सञ्चालन समितिको २०८१ चैत्र २७ गतेको बसेको बैठकको निर्णय अनुसार सोमवार २०८२ सालको पहिलो दिनबाट बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म निःशुल्क ओपिडी सेवाको उद्घाटन गरिएको अस्पतालका मेसु डाक्टर अनिल गिरिले जानकारी दिए ।
डाक्टर गिरिको सक्रियता र योजना अनुसार तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र चतरा हाल चतरा अस्पतालमा देशमै पहिलो पटक ३६५ दिन नै बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म निःशुल्क ओपिडी सेवाको सञ्चालन र त्यसपछि उनकै योजना अनुसार वराहक्षेत्र नगर अस्पतालमा पनि सेवा सञ्चालनमा ल्याइएको थियो ।
बन्दीपुर अस्पतालका मेसु डाक्टर गिरिका अनुसार अस्पतालमा ओपिडी सेवा विस्तार गरी हरेक दिन बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म पुर्याइएको छ ।
डा. गिरीका अनुसार ओपिडी सेवा शनिवार र सार्वजनिक बिदाका दिनमा पनि विस्तारित सेवा नियमित रूपमा सञ्चालन हुनेछ । उक्त समयमा अस्पतालमा सेवा लिन आउँदा कुनै पनि अतिरिक्त शुल्क लाग्नेछैन । स्वास्थ्य बिमितहरुलाई सेवा विस्तारित समयमा समेत स्वास्थ्य बिमा मार्फत नै सेवा उपलब्ध गरिनेछ । यसले सेवा लिन कर्मचारी वर्ग सबै आफ्नो दैनिक कार्यालय समय छोड्न नपर्ने, विद्यार्थी वर्ग आफ्नो कक्षा अध्ययन छोड्न नपर्ने, ज्याला मजदुर वर्ग आफ्नो दैनिकी ज्याला मजदुरी छाड्नु नपर्ने, व्यापार व्यवसायी वर्ग आफ्नो व्यापार व्यवसायमा असर नपर्ने गरी आउन मिल्ने डाक्टर गिरिले बताए।









































































