वराहक्षेत्र : नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट निर्वाचित पदाधिकारी र सोमवार सम्पन्न पाँचौँ नगर अधिवेशनबाट निर्वाचित नेपाल तरुण दल वराहक्षेत्र नगर कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।
मङ्गलवार चक्रघट्टि स्थित दुर्गाकालि मन्दिरको सभाहलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना भएको थियो ।
गत: चैत्र ५ गते सम्पन्न भएको स्ववियुको निर्वाचनमा सप्तकोशी बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल नै विजयी भएको थियो । कार्यक्रममा स्ववियु सप्तकोशी बहुमुखी क्याम्पसको अध्यक्षमा निर्वाचित विज्ञान सावाँ लिम्बू, उपसभापति आशुतोष पौडेल, सचिव इन्जु भट्टराई, सहायक सचिव अमन दहाल, कोषाध्यक्ष डिक बहादुर चुवान क्षेत्री त्यस्तै सदस्यहरू मनिषा थापा, साहिद चुरौटे, भीम बहादुर भण्डारी त्यस्तै मनोज निरौला, अस्मिता श्रेष्ठ, भारती कार्की र स्नेहा रानालाई सफल कार्यकालसँगै राजनैतिक तथा शैक्षिक प्रगतिको शुभकामना सहित सम्मान गरिएको थियो ।
त्यस्तै नेपाली कांग्रेसको प्रमुख तथा सशक्त भातृ संस्था नेपाल तरुण दलको वराहक्षेत्र नगर समितिको अध्यक्षमा मणिराज राई, उपाध्यक्षमा दिनेश राई, फाइटर राई र सुमन कार्की, सचिवमा रमेश कुमार कार्की र असिम राई त्यस्तै समितिको सहसचिवमा मनिषा कटुवाल, विकास सुवेदी र कोषाध्यक्षमा सञ्जय तामाङ सहित २३ सदस्यीय नगर समिति निर्विरोध चयन भएका थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्राविधिक शिक्षा, वातावरण परिवर्तन लगायतको विषयमा कार्यक्रम गर्न नव निर्वाचित स्ववियुका पदाधिकारी र विद्यार्थी नेताहरूलाई आग्रह गरेका थिए । नेविसङ्घका पूर्व केन्द्रीय सभापति समेत रहेका कार्कीले विद्यार्थीहरूलाई प्रविधि मैत्री तथा व्यवहारिक शिक्षा तर्फ विद्यार्थीहरूलाई आकर्षण गराउनु पर्ने बताए । उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य केन्द्रित गरेको आफ्नो विषयमा उत्कृष्ट भएर अगाडि बढ्न अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, कोशी प्रदेश सभा सदस्य ममता तामाङ र इस्राईल मन्सुरी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा महासमिति सदस्य जगत बहादुर कार्की, ओम कोईरला, महाधिवेशन प्रतिनिधि बाबुराम बिष्ट, अनु गुरुङ, सुरेन्द्र गुप्ता, दिपेशजङ्ग बस्नेत, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ सभापति मुरारी भट्टराई, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ सचिव केशव पुरी, नेविसङ्घका केन्द्रीय सदस्य तीर्थराज भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्बू लगायत वडा सभापतिहरू, वडा अध्यक्षहरू, नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक सङ्घ, संस्थाका पदाधिकारीहरू, नेपाली कांग्रेसका नेताहरूको आतिथ्यता रहेको थियो ।
नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा सञ्चालक सचिव प्रतीक राईले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपसभापति जित बहादुर कार्कीले गरेका थिए ।


































































