धरान : सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा धरानमा आज मङ्गलवार दिउँसो विरोध र्याली प्रदर्शन गरिएको छ ।
पुरानो हस्पिटलबाट कुलमानका समर्थकहरूले ‘ओली सरकारको निरङ्कुश कदम विरुद्ध’ को विरोधमा नाराबाजी गर्दै भानुचोक सम्म प्रदर्शन गरेका हुन । र्याली भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा घिसिङका समर्थकहरूले ‘उज्यालो नेपाल’जिन्दाबाद, केपी ओली सरकार मुर्दावाद, निरङ्कुश सरकार चाहिँदैन, कुलमान घिसिङलाई पुर्नवाहाली गर, वर्खास्ती खारेज गर, भ्रष्टाचारी सरकार चाहिँदैन, उज्यालो प्रेमी जनता एक हौँ, कुलमान घिसिङ जिन्दाबाद, भ्रष्ट नालायक सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।
कोणसभामा जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बुले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरूलाई संरक्षण गरेको आरोप लगाए । उनले भने ‘यो सरकारलाई उज्यालो मन पर्दैन, जनता उज्यालोमा बसेको ओली सरकारलाई मन नपरेको बताए ।
उनले अँध्यारो मात्र प्यारो लाग्ने सरकारले भ्रष्टाचारी दलाललाई पक्षपोषण गरेको आरोप लगाउँदै असल नेतृत्वले संस्थाको नेतृत्व गर्दा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको उनले उल्लेख गरे ।
नेता लिम्बुले भने ‘सरकारले ईमान्दार कर्मचारीलाई पखा लगाउँदै कमिसन, भष्ट्रचारको दलाली गर्न आफ्नो अनुकूलको नियुक्त गरेको छ ।’ उनले कुलमान घिसिङले क्षमता र योग्यता प्रस्तुत गर्दै देशलाई व्यापारीको पक्षपोषण गर्ने प्रथा र दलाल, पुँजीपति वर्गको हितमा मात्र भइरहेको कामको अन्त्य गर्दै नेपालबाट विद्युतको लोडसेडिङ अन्त्य गरेको बताए ।
नेता लिम्बुले भने ‘सरकारले नाङ्गो रूप प्रस्तुत गरेको छ, राम्रो काम गर्ने नेतृत्व हटाउने निर्णय तत्काल फिर्ता लिनु पर्छ ।’ नेकपा एस धरान अध्यक्ष रेवती रमण राईले जनताले अव अन्याय नसहने बताए ।
राईले निरङ्कुश ओली सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेकोमा जनता चुप लागेर बस्न नहुने आव्हान गरे । नेकपा माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बुले व्यापारीसँग कमिसन खानकै लागि घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको आरोप लगाए ।
उनले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विषयमा आम नेपाली नागरिकलाई हित नहुने काम गरिएको उनको भनाई थियो । उनले सरकारको निरङ्कुश निर्णयको विरोधमा देशैभर जनता सडकमा उत्रिएको बताउँदै ओली सरकारले जनताको आवाज सुन्नु पर्नेमा जोड दिए । उनले भने ‘प्रधानमन्त्री ओलीले आफ्नो सालो नातेदार पर्ने व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेर नाङ्गो नाच देखाएको छ ।’
नेपाल तामाङ घेदुङका जिल्ला उपाध्यक्ष सम्फर तामाङले उज्यालो नेपालका नायक घिसिङका विरुद्धमा सरकारले गरेको निर्णय सरकारलाई नै घातक हुने भएकोले निर्णय सच्याउन आग्रह गरे । उनले घिसिङलाई पदबाट हटाएकोमा तामाङ घेदुङले सशक्त विरोध सभा गर्ने बताए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गदै ओलीका सालो पर्ने हितेन्द्र शाक्यलाई नियुक्ति गरेको थियो ।
घिसिङको बर्खास्ती र शाक्यको नियुक्ति पछि नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले प्रेस विज्ञप्ति सार्वजनिक गदै कुलमान घिसिङको पुर्नवाहालीको मागको माग गरेका छन । घिसिङ हटाउने सरकारको निर्णय विरुद्ध सत्तापक्ष नेपाली काँग्रेसका केही नेताहरूले आपत्ति जनाएका छन् ।
नेपाली काँग्रेसका नेता सांसद डा. शेखर कोइरालाले घिसिङको बर्खास्ती विनाश काले विपरीत बुद्धि भनी टिप्पणी गरेका छन् । घिसिङलाई हटाउनुको उपयुक्त कारण सरकारले दिन नसक्दा नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु निन्दनीय कार्य भएको बताएका छन् ।




































































