धरान : प्युठान जिल्ला सोमद्धार नपा-१ का २६ वर्षीय एकम अधिकारीको संखुवासभा खाँदबारी-९ सालघारीमा आइतबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनी पछाडि बसेका थिए । मोटरसाइकल धर्मदेवी नपा-६ हुम्जुङका २५ वर्षीय आकाश जिमीले हाँकेका थिए ।

राती खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो ।

घाइते अधिकारीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परेको मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ ।