काठमाडौँ : पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिवार काठमाडौँमा विमोचन गरिएको छ । राणा शासनको सुरुवात गरेका शक्तिशाली शासक मानिने राणाले गरेको बेलायत यात्राका रोचक कुराहरू यस किताबमा समावेश छन् । जङ्गबहादुर काठमाडौँबाट बेलायत यात्रामा निस्केको १७५औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो ।
किताबलाई लेखकका बुवा भक्तबहादुर बुढाथोकी, इतिहासविद् त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जङ्ग संस्थाका अध्यक्ष पूर्वरथि सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
लेखक बुढाथोकीले जङ्गबहादुरको बहुचर्चित बेलायत यात्रा हुँदा लागेको खर्च खोज्ने क्रममा आफू प्रभावित भएर किताब नै तयार पारेको बताए । ‘सुरुमा इ-बुक निकाल्छु भन्ने सोच बनाएको थिएँ । तर पछि किताब नै तयार भयो ।’ उनले भने ‘जङ्गबहादुर बेलायत प्रवेश गरेको दिन त्यहाँको अखबारले प्राथमिकताका साथ समाचार लेखेको कपि पहिलो पटक सार्वजनिक गरेको छु, यो पत्रकारिताका विद्यार्थीका लागि निकै महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ ।’
किताब बारे आफ्नो धारणा राख्दै इतिहासविद् त्रिरत्न मानन्धरले निकै मेहनत गरेर किताब तयार पारिएको भन्दै इतिहासका कुराहरू समय-समयमा विमर्श गरिराख्नुपर्ने विषय भएको बताए । मदन पुरस्कार पुस्तकालयका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कुन्द दीक्षितले १२ वटा किताब पढेर लेखले रोचक कुराहरू तानेर किताबमा राखेको हुँदा पठनीय रहेको बताए ।
उनले जङ्गबहादुरको बेलायत यात्रा अङ्ग्रेजहरूको शक्तिको आङ्कलन गर्ने सूक्ष्म अध्ययन गर्ने मौका भएको पुष्टि त्यहाँका तोप-हतियारहरूको निरीक्षण, सेनाहरूको अवलोकन लगायतले गरेको बताए ।
लेखक यादव देवकोटाले निडर, स्वाभिमानी पत्रकारको परिचय बनाएका व्यक्तिले निकै मेहनत गरेर जङ्गबहादुरको बेलायत र फ्रान्स यात्राका धेरै नयाँ कुरा उल्लेख गरेको भन्दै यो किताब आफैँमा ऐतिहासिक बनेको बताए । श्री ३ जङ्ग संस्थाका अध्यक्ष सरोजप्रताप राणाले जङ्गबहादुरको साहसिक यात्रालाई पुनः स्मरण गराएकोमा लेखकलाई धन्यवाद दिए ।
लेखक बुढाथोकीको यो चौथो किताब हो । यस अघि आर्थिक उदारीकरणका २० वर्ष, समकालीन नेपाली अर्थतन्त्र र कोरोना कहरपछिको अर्थतन्त्र (ई-बुक) सार्वजनिक भएका छन् ।


































































